काठमाडौं । तनहुँको पर्यटकीय ग्राम नगरीमा पर्यटन पूर्वाधारयुक्त केवलकार गुरुयोजना बन्दिपुरहिलले साउन १ गतेदेखि ३२ गतेसम्म सञ्चालन हुनेगरि 'शिव महिम्नाहा उत्सव'को आयोजना गर्ने भएको छ।
साउन महिनाभर प्रत्येक साँझ बन्दिपुरहिलको वटम स्टेशन परिसरस्थित सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती सुरु हुनेछ र प्रज्वलित आरती केवलकारको माध्यमबाट भजन किर्तन गर्दै बन्दिपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिर सम्म पुर्याइने आयोजकले जनाएको छ।
खड्गदेवी मन्दिरमा भगवान् शिवले न्यायीक राज्य प्रशासनको सुरक्षा कवँचको रुपमा तत्कालीन पराक्रमी राजा मणि मुकुन्द सेनलाई वरदान स्वरुप दिएको साक्षात तरबार रहेको छ। मन्दिरमा ल्याएर 'दिव्य देवी आरती' गर्ने र भजन किर्तनसहित सांस्कृतिक कार्यक्रम गरिने 'शिव महिम्नाहा उत्सव' आयोजक समितिका संयोजक किरण पोख्रेलले बताए।
कार्यक्रमअन्तर्गत प्रत्येक सोमबार 'वोलवम पद तथा रोप यात्रा'को विशेष कार्यक्रमसमेत उत्सवमा समावेश गरिएको छ। यस प्रकारको यात्रा मस्र्याङ्गदी नदीबाट जल उठाइ सुरु हुनेछ र पद यात्रामार्फत केवलकार चोकमा रहेको चट्टानबाट बनेको सिद्धेश्वर महादेवको विशेष दर्शन, पुजा आरधना गरिने, प्राङ्गणमा नै रहेका ३३ कोटी देवी देवताको मूर्तिको दर्शन गराउने, शिवको विराट ध्यानमग्न मुर्तिको स्वरुप दर्शन गराउने, नाँचगाँन, भजन गराउँदै फिर्ति सवारी हुने र पुनः माँ खड्गदेवी मन्दिरमा विशेष पुजा आरधना गरिने पोख्रेलले जानकारी दिए।
बोलबम कार्यक्रमको दिन विहान ९ बजेदेखि १० बजेसम्म तीर्थयात्रीका लागि केवलकारको टिकट मूल्य २ सयमात्र राखिएको छ। अन्य दिनमा पनि छुटसहित केवलकारको टिकट मूल्य ५ सय र ३ सयमा सात्विक भोजन र खिर, पुरी, भाजी थाली निःशुल्क उपलब्ध गराउने पोख्रेलले बताए।