काठमाडौं । निरन्तरको वर्षासँगै पछिल्लो २४ घन्टा बाढीपहिरोमा परी देशभर ठूलो धनजनको क्षति भएको छ। कास्की र म्याग्दीमा पहिरोमा पुरिएर १३ जनाले ज्यान गुमाउनुका साथै चितवनको भरतपुरमा पहिरोबाट खसेको ढुंगाले लागेर एक बसचालकको मृत्यु भएको छ।
निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।
पोखरा महानगरपालिका-१९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घरमा गएराति साढे १० बजे पहिरो खस्दा पुरिदा ६ जनाले ज्यान गुमाएका छन्।
घटना परी कुल बहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया लक्षीमा परियार,१५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, २५ वर्षीय अस्मित परियारक मृत्यु भएको छ। सोही ठाउँमा उद्धार गर्ने क्रममा लडेर ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा आरती ओझाको घर पछाडिबाट खसेको पहिरोमा तीन जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको प्रहरीले जानकारी दिएको छ। ४० वर्षीय आरतीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको प्रहरीको भनाइ छ।
कास्कीको मादी गाउँपालिका–११ तल्लो ताप्लेमा घर पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयमार्फत सकुशल उद्धार गरेका छन्।
यस्तै म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पनि पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ। तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीले जनाएको छ।
भरतपुर-२९ सत्रकिलो स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसमाथि अचानक पहिरोसँगै खसेको ढुंगा लाग्दा चालकको ज्यान गएको छ। निधन हुनेमा नवलपरासी सुनवल ४ का ३६ को मेघनाथ बिक रहेका छन्।
शुक्रबार बिहान ३ बजेतिर ढुंगा लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। बसमा सवार यात्रु भने सकुसल छन्।
यस्तै नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहित खसेको पहिरोले दुईवटा यात्रुबहाक बस पुगेको छ। बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजलले बताए।
बिहान ३:३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेको र प्रहरी उद्धार कार्यमा जुटेको उनले बताए।
पहिरो खसाल्दा बेपत्ता भएका दुवै बसको खोजिमा गोताखोर परिचालन भएका छन्। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका छन्।
यसका साथै बाढी पहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध भएको छ। बाढी पूर्वानुमान महाशाखाले बाढीपहिरोको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।