काठमाडौं । सन् २०२३ मा १० लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएकोमा सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
पछिल्लो वर्षको तुलनामा संख्यात्मक रूपमा पर्यटकको संख्या बढे पनि बसाइँ अवधि र खर्च गर्ने प्रवृत्ति बढेको पाइँदैन। होटलमा पर्यटकको बसाइँ अवधि र खर्च औसत मात्रै रह्यो।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ मा नेपाल आउने पर्यटकको दैनिक बसाई १३.१ दिन रहेकोमा सन २०२३ मा १३.२ दिन पुगेको छ। सन २०२२ मा पर्यटकको दैनिक औसत खर्च ४० डलर रहेकोमा सन २०२३ मा ४१ डलर पुगेको छ।
खर्च बढाउन सरकारी नीति नै बाधक
विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको सीमा बढाउन सरकारी नीति नै बाधक देखिएको छ। नेपाल राष्ट्र बैंकले विदेशी पर्यटक नेपाल आउँदा ५ हजार अमेरिकी डलरमात्र ल्याउन पाउने व्यवस्था गरेको छ। योसँगै पर्यटकले नेपालमा दैनिक ३०० डलर मात्र सटही गर्न पाउँछन्।
होटल एसोसिएसन अफ नेपाल(हान)का वरिष्ठ उपाध्यक्ष प्रवीण पाण्डे एउटा पर्यटकले दैनिक ३०० डलरमात्र सटही गर्न पाउने लिमिट राख्नु नै गलत भएको बताउँछन्। ‘एकातिर पर्यटक आएर पनि खर्च गरेन भनेर दुखेसो गर्ने अनि अर्कोतर्फ दैनिक ३०० कोमात्र सीमा राखेपछि बसाइँ अवधि र खर्चको दर कसरी बढ्छ,’ पाण्डेले भने, ‘यो नीति अब आउने मौद्रिक नीतिमा परिवर्तन गरी खर्च गर्न पाउने सीमा खुल्ला गरिदिनुपर्छ।’
काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवाल विदेशी पर्यटकलाई नेपाल आउँदा ५ हजार अमेरिकी डलरसम्म मात्र ल्याउन पाउने व्यवस्था हटाउनु पर्ने बताउँछन्। यस्तो नीति अविलम्ब खारेज गरिनुपर्ने उनको सुझाव छ।
‘पैसाको लिमिट तोकिँदा पर्यटकले नेपाल आउँदा अतिरिक्त खर्च गर्न नपाउने र निश्चित सीमाभित्र रहेर खर्च गर्दा मुलुकले आम्दानी गुमाइरहेकोले विषयमा नेपाल राष्ट्र बैंकले गम्भीर समीक्षा गर्नुपर्छ,’ अग्रवालले भने।
होटल मेचीक्राउनका सञ्चालक बलराम सापकोटाले भारतीय नागरिकले २५ हजार रुपैयाँ भारु नगदमात्र ल्याउन पाउने व्यवस्थाले खर्च गर्ने सीमा बढ्न नसकेको बताए। नेपालमा ५ सय रुपैयाँको भारतीय नोट नचल्ने भएकोले १०० रुपैयाँको भारतीय रकम लिएर आउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ।
'एक साथ १०० का दरले २५ हजार नगद बोक्न असहज हुन्छ,’ सापकोटाले भने, ‘सरकारको नीतिले पर्यटनलाई घाटी निमोठेको छ। जुन गलत हो।’ सरकारको यही नीतिले पछिल्लो समय भारतबाट आउने पर्यटकले उतैबाट दाल, चामल ग्यास बोकेर आउनु परेको र नेपाल घुम्दा आफैँ खाना पकाएर खाने प्रवृत्ति बढेको उनले बताए।
होटल हिमालयका सञ्चालक दिनेश तुलाधरले कोभिडको प्रभाव अहिले पनि अधिकांश होटलमा रहेको बताउँदै व्यवसायीको ऋण पुर्नतालिकीकरणको व्यवस्था गर्नुपर्ने बताए। अहिलेको अवस्थामा ऋण पुर्नतालिकीकरण नभए धेरै होटल बन्द हुने स्थितिमा पुग्ने भएकोले मौद्रिक नीति होटल व्यवसायीप्रति लचक हुन आवश्यक रहेको बताए।
राष्ट्र बैंकले बैंकको सुरक्षा गर्न मौद्रिक नीति निकाल्दै आएको छ। होटल बन्द भएमा धेरैको रोजगारी गुम्ने भएकाले ऋण पुर्नतालिकीकरण आवश्यक रहेको तुलाधरले बताए।
होटललाई सटही सुविधा २ हजार डलरसम्म दिनुपर्छ
होटलमा आउने विदेशी पर्यटकलाई दैनिक २००० डलरसम्म सटही गर्ने सुविधा होटललाई दिनुपर्ने सुझाव तारे होटल सञ्चालकको छ। खासगरी पाँच र चार तारे होटल एवं सो सरहका रिसोर्टमा आउने पर्यटकलाई खर्चको सीमा बढाउन होटलबाट दैनिक सटहीको सुविधा ३०० बाट बढाएर २००० को सीमा पुर्याउनु पर्ने सुझाव रहेको छ।
यस्तै नेपालमा सञ्चालित अधिकांश होटलको अहिलेसम्म अन्तर्राष्ट्रिय होटल बुकिङ वेबसाइटबाट आउने बुकिङको कमिसन,सदस्यता शुल्क, प्रचार खर्चबापतको रकम वाणिज्य बैंकमार्फत भुक्तानी गर्ने गरिएको उल्लेख गर्दै होटलको डलर खाता प्रयोग गर्न विभिन्न निकायको अनुमति तथा सिफारिस लिनुपर्ने भएकोले भुक्तानी सहजताको लागि स्तर हेरि १० हजार अमेरिकी डलरसम्म टपअप गर्न मिल्ने गरी होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेडिट कार्ड उपलब्ध गराउन राष्ट्र बैंकलाई व्यवसायीको आग्रह छ।