काठमाडौं । सेयर बजार ६ महिनापछि २२०० बिन्दुमाथि उक्लिएको छ। साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.२१ अंक (१.३४ प्रतिशत)ले बढेर २२०४.६१ बिन्दुमा पुगेको हो।
यसअघि २०८० माघ ३ गते नेप्सेले २२०० अंक छोएको थियो। त्यस दिन नेप्सेले २२१५.०२ अंक छोएको भएपनि कारोबार बन्द हुँदा भने अघिल्लो कारोबार दिनको तुलनामा १२.१० अंकले २१६३.०६ बिन्दुमा बन्द बन्द भएको थियो।
त्यसअघि साउनको ३ कारोबार दिन नेप्से २२०० बिन्दु माथि पुगेको थियो। २०८० साउन ४ गते २१६३.९२ को बिन्दुमा बन्द भएको नेप्से साउन ७ गते आइतबार २२२८.७४ को बिन्दुमा पुगे पनि कारोबार बन्द हुँदा भने अघिल्लो कारोबार दिनको तुलनामा ६३.२४ अंकले बढेर २२००.५० को बिन्दुमा बन्द भएको थियो।
यसपछि साउन ८ गते सोमबार नेप्से २२४४.१३ बिन्दु छुँदै कारोबार बन्द हुने समय घटेर २२००.५० को बिन्दुमा बन्द भएको थियो। साउन ९ गते नेप्सेले २२०६.४६ को बिन्दु छोए पनि कारोबार बन्द हुँदा २१६४.३१ को बिन्दुमा सीमित भएको थियो।
यस्तै, आज कारोबार रकम पनि माघयताकै उच्च भएको छ। बिहीबार नेप्सेमा कुल ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यसअघि माघ ७ गते आइतबार नेप्सेमा कुल ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसयता नेप्सेमा ७ अर्बमाथिको कारोबार हुन सकेको थिएन।
खासगरी सत्ता समीकरण फेरिने निर्णय भएपछि नेप्सेमा उच्च अंकको सुधार हुँदै गएको छ। असार २४ गते सोमबार नेप्सेमा ४.६२ अंकको सामान्य करेक्सन हुनुबाहेक असार १७ बाट निरन्तर बढिरहेको छ।
यस साताको पाँचमध्ये चार कारोबार दिन नेप्से ६३.६४ अंकले बढेको छ। यस साताको पाँच कारोबार दिनमा नेप्सेमा कुल २८ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता पनि नेप्सेमा कुल २२ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएकामध्ये १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ।
बिहीबार बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९९, सिटजन्स सुपर ३० म्युचल फन्डको ९.९७ र एनआईबीएल स्टेबल फन्डको सेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ। सर्वाधिक घट्नेमा भने समाज लघुवित्त वित्तीय संस्था रहेको छ। कम्पनीको सेयर मूल्य ४.५९ प्रतिशतले घट्दा साधना लघुवित्तको सेयर मूल्य ४.५६ प्रतिशतले घटेको छ।
बिहीबार जीवन बिमा समूहको सेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ। यस समूहको सेयर मूल्य ३.०६ प्रतिशतले बढ्दा बैंकिङ समूहको सेयर मूल्य २.४२ प्रतिशतले बढेको छ। यस्तै, लघुवित्त समूहको सेयर मूल्य ०.५३ प्रतिशत र व्यापार समूहको सेयर मूल्यमा ०.३९ प्रतिशतले गिरावट आएको छ।