काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर नै ग्राउन्डेड गरेर आन्दोलन उत्रिएका पाइलटको समस्या समाधान गर्न कमिटी गठन गरेको छ।
भक्तपुरको नलिनचोकमा सञ्चालित हेलिपोर्टबाट हेलिकोप्टर उडान गर्दा सुरक्षा संवेदनशीलता र जोखिम अधिक रहेको भन्दै तत्काल समस्या समाधानका लागि पाइलटले लिखित सुझाव बुझाएको १० दिनपछि प्राधिकरणले कमिटी गठन गरेरर सुझाव संकलन गर्ने भएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बुधबार नै १५ समिति सदस्य बनाएर बिहीबारबाट काम सुुरु गरिसकेको र एक साताभित्र महानिर्देशक प्रदीप अधिकारीलाई सिफारिससहितको सुझाव दिने जानकारी दिए।
समितिले पाइलटले राखेका मागका विषयमा अध्ययन गरी हेलिपोर्ट सञ्चालनलाई थप सुरक्षित र सुदृढ बनाउन महानिर्देशक समक्ष आवश्यक रायसुझावसहितको प्रतिवेदन बुझाउनेछ। केही तत्कालै समधान गर्न सकिने विषय छन् भने केही सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने रहेकाे भुल बताउँछन्।
कतिपय माग पूरा प्राधिकरणको क्षेत्राधिकार बाहिर रहेकोले समाधानका लागि सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्ने निधोमा प्राधिकरण पुगेको उनकाे भनाइ छ। ‘१२ डिसेम्बर २०२३ मा परीक्षण उडान गर्दा केही कुराबाहेक अधिकाशं विषय ठिक रहेको रिपोर्ट बुझाएको थियो,’ सूचना अधिकारी भुलले भने, ‘नियमित उडान गर्नुअघि पनि सम्पूर्ण हेलिकोप्टर सञ्चालकसँग छलफल गर्दा सबै ठिक रहेको जानकारी पाएपछि उडान गरेको हो।’
प्राधिकरणले एकलाैटी नगरेको नभई सबै क्षेत्रसँगको सहमतिमा उडान गरेको बताउँदै पाइलटको सेफ्टीभन्दा उडान ठूलो कुरा नभएकोले समस्या समधानका लागि गम्भीर भएर लागेको उनकाे दाबी छ।
पाइलटलाई गाह्रो भएको देखिए त्यसलाई पुनर्विचार गरी आवश्यक तयारी पूरा गर्न महानिर्देशकलाई सिफारिस गर्न सक्नेसमेतको अधिकार कमिटीलाई दिइएको छ। पाइलटले भने आफ्नो सुरक्षा संवेदनशीलतामा प्राधिकरण गम्भीर नभएको भन्दै बिहीबारदेखि अनिश्चितकालका लागि उडाननै नगर्ने निर्णय गरेर आन्दोलनमा उत्रिएका छन्। उनीहरुले बिहीबारबाट नलिनचोकमा रहेको सम्पूर्ण हेलिकोप्टर ग्राउण्डेड गरिदिएका छन्।
वायुसेवा सञ्चालक संघको मिटिङमा नजाने घाेषणा
कारबाही भोग्ने तर जोखिम नमोल्ने निष्कर्षसहित हेलिकोप्टर ग्राउण्डेड गरेका पाइलटलाई वायुसेवा सञ्चालक संघले छलफलका लागि बोलाए पनि नजाने घाेषणा गरेका छन्। पाइलटको सुरक्षालाई ध्यानमा नदिई प्राधिकरणसँग नयाँ हेलिपोर्टमा उडान गर्ने सहमति गरेको भन्दै प्राधिकरणसँग मात्र छलफल गर्ने गरी संघले बोलाएको छलफलमा नजाने निर्णय एको पाइलटहरूको भनाइ छ।
‘समस्या समाधानका लागि गम्भीर नुपर्ने संघले नै बेवास्ता गरेपछि जोखिम मोलेर हेलिकोप्टर ग्राउण्डेड गर्न बाध्य भएका हौं,’ एक पाइलटलले भने, ‘अहिले आएर छलफल गरौं भनेर फोन आइरहेको छ तर हामी सीधै प्राधिकरणसँग मात्र छलफलमा बस्छौं।’