काठमाडौं। पाइलटहरूले सुरक्षा संवेदनशीलतामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर नभएको भन्दै भक्तपुरको नलिचोकबाट आजदेखि उडान नगर्ने निर्णय गरेका छन्।
सुरक्षा जोखिम न्यूनीकरणका लागि प्राधिकरणलाई असार १६ मा लिखित रुपमै सुझाव दिँदै सुधारका लागि समय दिँदा पनि बेवास्ता गरिएको भन्दै पाइलट आन्दोलित बनेका हुन्। आफूहरूले अनिश्चितकालका लागि उडान बन्द गर्ने निर्णय गरेको एक पाइलटले बताए।
बुधबार दिउँसो पाइलट सम्मिलित भेलाले तत्कालीन अवस्थामा नयाँ हेलिपोर्टबाट उडान गर्न नसक्ने निष्कर्ष निकालेको उनको भनाइ छ। 'हेलिकोप्टर उडान नगर्दा कारबाही हुन सक्छ। भोग्न तयार छौं। भोकै बस्छौं, जोखिम मोल्दैनौं,‘ ती पाइलटले भने।
पाइलटले नयाँ हेलिपोर्टमा विभिन्न समस्या देखिएको भन्दै सुधारका लागि अनुरोध गर्दा प्राधिकरण माग सम्बोधनको साटो पेलेर अगाडि बढेको उनीहरूको आरोप छ।
हेलिप्याड र सेक्युरिटी वाल एकदमै नजिक रहेको, आसपासमा ठूला घर रहेकाले टेकअफ र ल्यान्डिङमा समस्या भएको क्याप्टेनहरूको गुनासो छ। टेकअफ र ल्यान्डिङका लागि ७० देखि १०० मिटरको दूरी खाली हुनुपर्छ। हेलिपोर्टमा इन्धन भण्डारणसमेत सञ्चालनमा छैन। हेलिकोप्टर कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्किनमा लगेर इन्धन भर्ने गरेका छन्।
हेलिपोर्टमा कार्गो र यात्रुलाई चेकजाँच गर्ने स्क्यानर मेसिनसमेत राखिएको छैन। सोही कारण हेलिपोर्टभित्रको सुरक्षा जोखिम बढेको हेलिकोप्टर सञ्चालकको गुनासो छ। हेलिपोर्ट अति संवेदनशील क्षेत्रमा पर्ने हुँदा प्राधिकरणले एउटा पनि अग्नि नियन्त्रणसम्बन्धी उपकरण राखेको छैन।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले असार ७ गते हेलिपोर्टको उद्घाटन गरेका थिए। त्यसलगत्तै प्राधिकरणले हेलिपोर्टबाट १२ कम्पनीका १/१ हेलिकोप्टर नलिनचोकबाट अनिवार्य सञ्चालन गर्न निर्देशन दिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरलाई विस्थापन गरी नलिनचोकबाट उडान र अवतरण गराउने उद्देश्यले प्राधिकरणले ११ करोड ९० लाखमा नयाँ हेलिपोर्ट तयार पारेको हो।
नलिनचोक हेलिपोर्टबाट उडान नभर्ने क्याप्टेनहरूको घोषणा, सुरक्षा जोखिम रहेको निष्कर्ष