काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन्।
एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकलाई ब्यालेन्सबिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका हुन्।
राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रमा पनि थुप्रै उपभोक्ता क्रयशक्तिका कारणले कहिलेकाहीँ मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन्। एनसेलले यी खाडल पुर्न मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरी दुई प्रोडक्ट फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको छ।
विशेषगरी टुजी मोबाइल सेट बोक्ने ग्राहकका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन सान्दर्भिक हुने एनसेलले बताएको छ।
डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ। त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन्।यी दुवै प्रोडक्टमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागू हुनेछ।
‘यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पु¥याउँछ र हाम्रो सधैं अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकका मोबाइलमा केही आधारभूत सेवा उपलब्ध रहिरहने ग्यारेन्टी कम्पनीले दिएको छ। यस किसिमका सहकार्यले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण कदम चाल्नेछ’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।
डिस्कभर एक एन्ड्रोइड एप हो । ग्राहकले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुने गरी इन्टरनेट चलाउन सक्छन्। यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिने एनसेलले जनाएको छ।
यसैगरी स्वास्थ्य एवं सुरक्षासम्बन्धी विश्वासिलो जानकारीहरुमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनका वेबसाइट बुकमार्क गरिएको छ।
फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकले डेटा प्याक सकिए वा डेटा प्रयोग गर्न ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोसहितको फेसबुक चलाउन सक्नेछन्।