काठमाडौं । पुराना ऋणीलाई ब्याजको भार औषतमा साढे २ प्रतिशत बिन्दुले घटेको छ। गत वर्षको जेठमा बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक)बाट कर्जा लिएका ऋणीलाई ब्याजदर औषत २.४८ प्रतिशत बिन्दुले घटेको हो।
यसबीच बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएसँगै खर्च घट्दा आधारदर घटी कर्जाको ब्याजदर घटेको हो। यसबीच निक्षेपको औषत ब्याजदर २.०३ प्रतिशत बिन्दु्ले घटेको छ। आधारदरसमेत औषतमै २.२० प्रतिशत बिन्दुले घटेको छ।
बैंकहरूले निक्षेप महँगोदरमा स्वीकार गरे त्यसमा लाग्ने खर्च जोडेर स्प्रेडदर कायम गरी आधारदर निर्धारण गर्छन्। सोही आधारदरमा केही प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तोकेका हुन्छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष जेठमा बैंक तथा वित्तीय संस्थाको निक्षेपदर औषत ९.२१ प्रतिशत थियो। जुन चालू वर्षको जेठमा आइपुग्दा घटेर ७.१७ प्रतिशत कायम भएको छ। यसबीच वाणिज्य बैंकमा निक्षेपदर १.८२ प्रतिशत बिन्दुले घटेर ६.१७ प्रतिशत, विकास बैंकमा २.३८ प्रतिशत बिन्दुले घटेर ७.१७ प्रतिशत र वित्त कम्पनीमा १.९ प्रतिशत बिन्दुले घटेर ८.२८ प्रतिशत कायम भएको छ।
निक्षेपको ब्याजदर घट्दा बैंकको आधारदर समीक्षा अवधिमा २.२० प्रतिशत बिन्दुले घटेको छ। यसबीच वाणिज्य बैंकको २.०१ प्रतिशत बिन्दुले घटेर ८.१७ प्रतिशत, विकास बैंकको २.५१ प्रतिशत बिन्दुले घटेर ९.९६ प्रतिशत र वित्त कम्पनीको २.०९ प्रतिशतले घटेर ९.८९ प्रतिशत कायम भएको थियो।
आधारदर घटेसँगै २०८१ जेठमा बैंकहरूको औषत कर्जाको ब्याजदर ११.५४ प्रतिशत कायम भएको छ। २०८० जेठमा कर्जाको औषत ब्याजदर १४.०२ प्रतिशत थियो। यसबीच वाणिज्य बैंकको २.३८ प्रतिशत बिन्दुले घटेर १०.१५ प्रतिशत, विकास बैंकको २.८४ प्रतिशत बिन्दुले घटेर ११.६३ प्रतिशत र वित्त कम्पनीको २.२१ प्रतिशत बिन्दुले घटेर १२.८५ प्रतिशत कायम भएको हो।
पुराना ऋणीलाई ब्याजदर घट्दा नयाँ ऋणीको लागि पनि दर घटाउने तयारी बैंकरले गरेका छन्। यसअघि लागू ब्याजदरलाई निक्षेपमा भएको खर्चअनुसार समायोजन गर्ने तयारी बैंकर्स संघले गरेका हुन्। विगत ३ महिनायता वाणिज्य, बैंक विकास बैंक र वित्त कम्पनीले नै निक्षेपको ब्याजदर घटाइरहेका छन्।
सोहीअनुसार कर्जाको बेसरेट समायोजन गर्दा साउनमा कर्जाको ब्याजदरसमेत घट्ने नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष सुयोग श्रेष्ठ र वित्त कम्पनी बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल पन्त बताउँछन्।