काठमाडौं । गत वर्षको तुलनामा उपभोक्ता मुद्रास्फीति घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांकअनुसार जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ।
गत वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत थियो। यो चालू वर्षको तुलनामा २.६६ प्रतिशत बिन्दुले बढी हो। केन्द्रीय बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ।
यस्तै, घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ। जेठ महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.४७ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ।
सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ। २०८१ जेठ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको ४.६३ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.१९ प्रतिशत, ६.९३ प्रतिशत, ६.२८ प्रतिशत र ६.३९ प्रतिशत रहेको थियो। जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.४८ प्रतिशत छ जुन गत वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो।
जेठसम्म उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.८७ प्रतिशत, ५.३२ प्रतिशत र १.६६ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.१२ प्रतिशतले घटेको छ।
जेठ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक २.८४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक १०.१४ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १.०५ प्रतिशत र ३.३६ प्रतिशतले बढेको छ।