काठमाडौं । एक महिनामै रेमिट्यान्स १ खर्ब २९ अर्ब रुपैयाँ भित्रिएको छ। उच्च दरमा रेमिट्यान्स भित्रिँदा विदेशी मुद्रा सञ्चिति पनि २५ अर्बले बढेको छ।
बाह्य अर्थतन्त्रका अवयवहरू सुधारिँदो क्रममै रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना (जेठसम्मको) तथ्यांकमा आधारित 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति'ले देखाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म रेमिट्यान्स नेपाली रुपैयाँमा १९.३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। यद्यपि वृद्धिदर गत वर्षको २२.७ प्रतिशतको तुलनामा भने कम हो। त्यस अवधिमा अमेरिकी डलर आधारमा हेर्ने हो भने रेमिट्यान्स १७.३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड डलर पुगेको छ। गत वैशाखसम्म रेमिट्यान्स ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ भित्रिएको थियो।
यसरी हेर्दा जेठमा मात्रै १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ।
अमेरिकी डलरका आधारमा हेर्ने हो भने रेमिट्यान्स वृद्धिदर गत वर्षको १३ प्रतिशतको तुलनामा चालू वर्ष बढी देखिन्छ।
जेठसम्म विदेशी विनिमय सञ्चिति गत असारको १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँको तुलनामा २७.८ प्रतिशतले बढेर २०८१ जेठमा १९ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।
विदेशी मुद्रा सञ्चिति गत वैशाखसम्म १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ थियो। यसरी हेर्दा एक महिनामै विदेशी मुद्रा २४ अर्ब ७९ करोड रुपैयाँले बढेको छ।
विदेशी मुद्रा सञ्चितिसँगै स्वधानान्तर बचत बढेर हालसम्मकै उच्च ४ खर्ब २५ अर्ब ६८ करोड पुगेको छ। यो अमेरिकी डलरमा भने ३ अर्ब २० करोड हो। यस अवधिमा चालू खातासमेत उच्च बचतमा छ।
गत वर्ष जेठमा ७९ अर्ब ५३ करोड घाटामा रहेको चालू खाता घाटा गत जेठमा २ खर्ब ३९ करोड बचत भएको छ।
राष्ट्र बैंकका अनु्सार यस अवधिमा पुँजीगत ट्रान्सफरमा ब्यापक कमी आएको छ। पुँजीगत ट्रान्सफर गत वर्षको ७ अर्ब ३५ करोडको तुलनामा २५.७ प्रतिशतले घटेर ५ अर्ब ४६ करोडमा सीमित भएको छ।
रेमिट्यान्स वृद्धि भइरहँदा विदेशीने नेपालीहरूको संख्या भने सामान्य घटेको छ। गत वर्ष जेठमा वैदेसिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृत लिने ४ लाख ५९ हजार ४१५ जना रहेकोमा यस वर्ष जेठसम्म ४ लाख २२ हजार ९३६ जना छन्।
त्यस्तै पुन: श्रमस्वीकृति लिने गत वर्ष २ लाख ६० हजार २६२ जना रहेकोमा यस वर्ष २ लाख ६२ हजार ७०५ जना छन्। यस अवधिमा खुद ट्रान्सफर आयमा १७.३ प्रतिशतको वृद्धि देखिएको छ। यद्यपि अघिल्लो वर्ष यस्तो वृद्धि २१.९ प्रतिशत थियो।