काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिसँग सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्। आव सिंहदरबारमा सहकारीमा बचत राखेर निक्षेप फिर्ता पाउन नसकेका पीडितसँग छानबिन समितिले छलफल गरेकोमा उनीहरूले लामिछानेमाथि छानबिन गर्न माग गरेका हुन्।
सहारा बहुउद्देश्यीय सहकारीको गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी रहेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक लामिछानेमाथि छानबिन हुनुपर्ने पीडितहरूको माग छ।
सहारा बहुउद्देश्यीय सहकारी पीडित शालिग्राम दुवाडीले आफूहरूको बचत रकम गोर्खा मिडिया नेटवर्कलगायत विभिन्न कम्पनीमा गएको र कम्पनीविरुद्ध मुद्दा हाल्दा चितवन प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको नाम देखेपछि रोकेको बताए। उनले गोर्खा मिडिया नेटवर्क प्रालिको नाम आउनेबित्तिकै मुद्दा रोकिनु गम्भीर विषय भएको बताए।
गोर्खा मिडिया नेटवर्क २५ करोडमा खोल्न सकिने भए पनि सहारा सहकारीबाट १ अर्ब बढी रकम लिएर अपचलन गरिएको दाबी गरे। ओरिन्टल सहकारी पीडित खगेन्द्रनाथ काफ्ले सहकारी बचतकर्ताको पैसा सहकारी सञ्चालकले आफ्नो इच्छाले घरजग्गामा लगानी गर्ने र जग्गा अर्काको नाममा राखेर बचतकर्ताको पैसा सक्ने काम भएको आरोप लगाए।
शिवशिखर बहुउद्देश्य सहकारी संस्था पीडित चक्रबहादुर श्रेष्ठले दुई वर्षदेखि बचत फिर्ताको लागि संघर्ष गरिरहेको भए पनि कतैबाट पनि सुनुवाइ नभएको बताए।
समितिमा आएका अधिकांश सहकारी पीडितले समितिले निष्पक्ष रुपमा छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग राखेका थिए।
छलफलमा सहकारी पीडितका नाममा गठित विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिसहित ३२ सहभागी थिए।
छानबिन समितिले यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, आईजीपी र गृह मन्त्रालयका सचिवसँग सहकारीबाट भएको ठगी र रकम अपचलनमाथि परेका उजुरी एवं अनुसन्धान प्रक्रियाबारे जानकारी लिएको थियो।
समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असार २४ मा सहकारी पीडितको माग सम्बोधन र रकम अपचलनमा संलग्नमाथि कारबाही गर्ने प्रक्रियाबारे जानकारी लिएको थियो।
यस्तै, समितिले समस्याग्रस्त सहकारीका सञ्चालकसँग पनि छलफल गरेको छ। ऋसार २५ मा छानबिन समितिले सहकारीका भूतपूर्वदेखि हालका रजिस्ट्रारसँग सामूहिक छलफल चलाएको थियो।