काठमाडौं । कृषि विकास बहुउदेश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। करिब १ अर्ब अपचलन गरेको आरोपमा सहकारीका सञ्चालकसहित १२ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १ असारमा तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेर जिल्ला प्रहरी प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो।
त्यसपछि प्रहरीले २५ दिन लामो अनुसन्धान गर्दै तयार पारेको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुर पठाइएकोमा थियो। उनीहरूले सहकारीको रकम अपचलन गर्दै टेलिभिजनदेखि अस्पतालसम्म लगानी गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
पक्राउ परेका चार बाहेकलाई फरार प्रतिवादीको सूचीमा राखिएको छ। फरार प्रतिवादीमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य ४४ वर्षीय राज श्रेष्ठ र ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारी छन्।
सहकारीका कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।
सहकारीमा ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ अपचलन भएको भन्दै ७२ वटा जाहेरी परेका थिए। सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो।