काठमाडौं । सहकारी संस्था बचत अनियमितता छानबिन गर्न बनेको संसदीय छानबिन समितिले सहकारी पीडितसँग छलफल थालेको छ।
सिंहदरबारमा चलिरहेको छलफलमा सहकारीमा बचत राखेर निक्षेप फिर्ता पाउन नसकेका पीडितसँग छानबिन समितिका सदस्यले ठगिनुको कारणबारेको वस्तुस्थिति बुझेका हुन्।
सहकारीमा निक्षेप संकलन गरेर बचत पाउन नसकेका, निक्षेप संकलन गरेपछि सहकारीका सञ्चालक भागेसँगै हालसम्म गरिएका कानुनी, प्रशासनिक प्रयासबारे समिति सदस्यले सहकारी पीडितसँग प्रत्यक्ष जानकारी लिइएको संयोजक सूर्य थापाले बताए।
छलफलमा सहकारी पीडितका नाममा गठित विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिसहित ३२ सहभागी छन्।
सहकारी रकम अपचलन गर्नेहरुविरुद्धको प्रमाणसम्म पुग्न पीडितको सुझाव र सूचना महत्त्वपूर्ण हुने उनको संयोजक थापाले जिकिर गरे।
छानबिन समितिले यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, आईजीपी र गृह मन्त्रालयका सचिवसँग सहकारीबाट भएको ठगी र रकम अपचलनमाथि परेका उजुरी एवं अनुसन्धान प्रक्रियाबारे जानकारी लिएको थियो।
समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असार २४ मा सहकारी पीडितको माग सम्बोधन र रकम अपचलनमा संलग्नमाथि कारबाही गर्ने प्रक्रियाबारे जानकारी लिएको थियो।
यस्तै, समितिले समस्याग्रस्त सहकारीका सञ्चालकसँग पनि छलफल गरेको छ। ऋसार २५ मा छानबिन समितिले सहकारीका भूतपूर्वदेखि हालका रजिस्ट्रारसँग सामूहिक छलफल चलाएको थियो।