काठमाडौं। निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद् घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको प्रहरीले विवरण सार्वजनिक गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते भएका छन्।
हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उनले जानकारी दिए। घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन्।
उक्त समय बाढीपहिरोका कारण ३८४ पशु चौपायाको क्षति भएको छ। यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए।
वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ।
मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ। यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
देशभर २ हजार ९५४ परिवार विस्थापित भएका छन्। उक्त घटनामा १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रहरीले बताएको छ।