काठमाडौं । आगामी भदौमा हुने तयारी थालिएको नाडा अटो शोमा आफ्नो स्टल राख्न बढी मूल्य भएको भन्दै व्यापारीले अनिच्छा प्रकट गरेका छन्। नाडाले प्रतिस्टल मूल्य अधिकतम १५ लाख रुपैयाँसम्म तोकेपछि व्यापारी सहभागी हुन अनिच्छुक देखिएका हुन्।
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले १६औं नाडा अटो शो आगामी भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी छ। नाडाद्वारा आयोजना गरिने मेलालाई सवारी साधनको ‘कुम्भ मेला’ को रूपमा लिइन्छ। नाडा अटो शो व्यवसायीका लागि व्यापार विस्तार गर्ने महत्त्वपूर्ण मञ्चसमेत हो।
अघिल्ला मेलामा नाडाले स्टलको भाडा अधिकतम १३ लाख ५८ हजार रुपैयाँसम्म लिएको थियो। आगामी भदौमा हुने मेलामा नाडाले अधिकतम १४ लाख ९८ हजार रुपैयाँ स्टल भाडा निर्धारण गरेको छ। मेलाका लागि स्टल मूल्य १० प्रतिशतले बढाएर नाडाले अग्रिम बुकिङ खुलाएको छ। भदौ ११ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने नाडा अटो शो–२०२४ को स्टल मूल्य अत्यधिक बढाइएको भन्दै कतिपय व्यापारी सहभागी नहुने मनसाय बनाउन थालेका छन्। मूल्य बढाएर नाडाले व्यवसायीक हितभन्दा व्यक्तिगत स्वार्थमा काम गर्दा मर्कामा परेको लुयान स्कुटरका बजार प्रमुख शंकर शर्माले बताए।
‘नाडा हाम्रो लागि काम गर्ने एजेन्सी तथा डिलरको व्यवसायीक हितमा काम गर्ने एसोसिएसन हो। नाडाले अटो व्यवसायीका लागि नै काम गर्नुपर्ने हो,’ शर्मा भन्छन्, ‘तर, शोमा स्टल मूल्य बढाएर व्यवसायीलाई मर्कामा पारेको छ।’
यस वर्षको नाडा अटो शोमा सबैभन्दा महँगो स्टल मूल्य १४ लाख ९८ हजार रुपैयाँ तोकिएको छ भने, सबैभन्दा सस्तो स्टल मूल्य २ लाख २६ हजार रुपैयाँ छ। अघिल्लो पटक सम्पन्न नाडा अटो शोमा भने सबैभन्दा बढी महँगो स्टल मूल्य १३ लाख ५८ हजार ६ सय २५ रुपैयाँ थियो भने सबैभन्दा सस्तो स्टल मूल्य १ लाख थियो।
विगतका वर्षमा पनि स्टल मूल्य महँगो भएको भन्दै शोमा सहभागी नजनाउने थुप्रै ब्रान्ड हुन्थे। यस वर्ष झन् स्टल मूल्य दर बढाइएपछि महँगो भएको गुनासोसँगै मेलामा अग्रिम बुकिङ गर्ने व्यापारीको संख्यामा कमी देखिएको र यसले अस्वस्थ प्रतिस्पर्धा हुने देखाएको शर्माले बताए।
‘आगामी अटो शोका लागि नाडाले निर्धारण गरेको मूल्य सबै ब्रान्डले सहजै तिर्न सक्दैनन्,’ शर्मा भन्छन्, ‘अतिरिक्त मार्जिन तथा धेरै मूल्य राखेर अस्वस्थ प्रतिस्पर्धा गर्ने व्यवसायीले मात्र सहभागी हुन सक्छन्। अन्यथा सही ढंगमा व्यापार गर्ने मेलामा सहभागी हुँदैनन्।’
अन्य सवारी मेलामा २०/३० हजार रुपैयाँमा पाइने स्टललाई नाडा अटो शोमा सुरुवाती मूल्य नै २ लाख २६ हजार रुपैयाँ तोकेको छ। नाडा अटो शो ब्रान्डिङ तथा विज्ञापन गर्ने प्लेटफर्म हो। तर, स्टल मूल्य महँगो भएकाले फाइदा लिन नसकिने व्यवसायीको गुनासो छ। ‘एउटा ३/३ को सानो स्टलको मूल्य कमाउनका लागि १० वटा स्कुटर बेच्नुपर्ने देखिन्छ। फाइदा लिनका लागि २० स्कुटर बिक्री गर्नुपर्ने हुन्छ,’ शर्मा भन्छन्, ‘दुई पाङ्ग्रे तथा साना ब्रान्डका लागि यो निकै कठिन विषय हो।’
सिट्रोन गाडीको बजार प्रमुख रुपेश श्रेष्ठ पनि लुयान स्कुटरका शर्माको कुरामा समर्थन जनाउँछन्। ‘व्यवसायीलाई हरेक पटक स्टलको भाडा बढाउँदा असर परेको छ। भाडा जति कम भयो त्यति धेरै व्यवसायी सहभागी हुन पाउँछन्,’ बजार प्रमुख श्रेष्ठ भन्छन्, ‘व्यवसायीका लागि लगभग ३० देखि ५० युनिट गाडी बेच्ने मौका भनेको नाडा अटो शोमा नै हो। सबै कम्पनीले १०० देखि २०० युनिट बुकिङ अटो शोमा लिन्छन्।’
नाडा अटो शोको स्टल मूल्य २०१९ पछि एकैचोटी २०२४ मा आएर १० प्रतिशतले बढाइएको हो। हिजो दिनमा नाडा अटो शोमा स्टलको मूल्य महँगो भयो भन्दै सहभागी हुन व्यवसायीले अस्वीकार गर्थे। अहिले घोषित रूपमै नाडाले स्टलको मूल्य बढाएर अग्रिम बुकिङ खुलाएको हो। बढेको मूल्यमा स्टल बुकिङ गर्न व्यापारीले आनाकानी गरिरहँदा नाडा अटो शोका संयोजक अनुप बराल शोको खर्च, ब्रान्डिङअनुसार लगानीको तुलनामा भाडादर सस्तो रहेको बताउँछन्।
‘हामीले मेलाको लागि गरेको खर्च अनुसार स्टल भाडा एकदमै उचित लागत हो। आर्थिक मन्दी नभएको भए अझै महँगो हुन्थ्यो,’ बरालले भने, ‘भृकुटीमण्डपमा हुने जति पनि कार्यक्रम छन्, ती कार्यक्रममा यो भाडादर सबैभन्दा सस्तो हो।’ नाडाले नेपालका साना ठूला सबै ब्रान्डलाई अटो शोमा सहभागी हुन सक्ने गरी स्टलको बुकिङ तय गरेको बरालले दाबी गरे।
नाडा अटो शो २०२४ मा चार पाङ्ग्रे सवारीसाधनको लागि ब्लक ‘ए प्रिमियम’का ४ वटा स्टलको भाडा १४ लाख ९८ हजार ३८० रुपैयाँ निर्धारण गरिएको छ। गत वर्ष ‘ए प्रिमियम’का ४ स्टलका भाडा १३ लाख ५८ हजार ६२५ रुपैयाँ थियो। गत वर्षको तुलनामा यो वर्ष ‘ए प्रिमियम’को स्टल भाडा १ लाख ३९ हजार ७५५ रुपैयाँ बढेको हो।
ब्लक ‘ए सेमी प्रिमियम’का स्टल ९ लाख ८५ हजार ३६० रुपैयाँ मूल्य रहेको नाडाले जनाएको छ। यस्तै ब्लक ‘बी सेमी प्रिमियम’का स्टल १३ लाख ७६ हजार ३४०, ब्लक’ एच स्ट्यान्डर्ड’ का स्टल १० लाख ३१ हजार १२५ र ब्लक ‘सी सेमी प्रिमियम’का स्टल ७ लाख ४४ हजार ६७० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, दुई पाङ्ग्रे सवारीसाधनको लागि ब्लक ‘एम प्रिमियमका स्टल ४ लाख ७ हजार ९३० रुपैयाँ तोकिएको छ भने ब्लक ‘एमओ स्ट्यान्डर्ड’ का स्टल ३ लाख ७१ हजार ९९६ रुपैयाँ छ। ब्लक ‘एमएम स्ट्यान्डर्ड’ स्टल ३ लाख ३७ हजार ३०५ रुपैयाँ र दुई पाङ्ग्रे सवारीको सबैभन्दा सस्तो स्टल ‘एमएम स्ट्यान्डर्ड’ को २ लाख २६ हजार रुपैयाँ निर्धारण गरिएको छ।
गत वर्ष ब्लक ‘ए थ्री ई’ को ४ वटा स्टलको ८ लाख ९१ हजार ५०० रुपैयाँ थियो। भने ब्लक ‘बी टु ई’ को २ वटा स्टलको १२ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको थियो। अन्यको स्टल र स्थान हेरेर १ लाखदेखि ९ लाख रुपैयाँसम्म तोकिएको थियो।