राष्ट्र बैंकको नीतिकै कारण नेपाली सेयर बजार अहिले नराम्रो स्थितिमा पुगेको छ। राष्ट्र बैंकले बेलाबेला गरिरहने नीति परिवर्तनका कारण नेपालका लगानीकर्ता स्वस्थ हुन सकेका छैनन्। आजका दिनमा हिजोको कर्जा लिन पाउने व्यवस्थालाई संकुचित बनाइएको छ। हिजोका दिनमा सेयर कर्जाको जोखिमभार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशतसम्म पुर्याइयो। अहिले घटाएर १२५ प्रतिशत बनाउँदा थोरै राहत मिले पनि पर्याप्त छैन। केन्द्रीय बैंकले लिएका नियन्त्रित नीतिका कारण सेयर बजारमा शिथिलता आएको छ। राष्ट्र बैंकले सुधारको कदम अगाडि नबढाउँदा बजारमा सकारात्मकता आउन सकेको छैन। आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्ता सबै विषय सुधार गरेर लैजानुपर्छ। मौद्रिक नीतिमा राष्ट्र बैंकले कर्जाको सीमालाई हटाउने, जोखिमभार १०० प्रतिशतभन्दा तल झार्ने व्यवस्था ल्याउनुपर्छ।
लगानीकर्ताले स्रोत देखाएर बैंकको नीतिले दिन मिल्नेसम्म कर्जा लिनसक्ने व्यवस्था गरिनुपर्छ। यसमा सीमा लगाइनुहुँदैन। बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गर्न पाउने सीमा हिजोका दिनमा जुन थियो, अब पनि त्यही व्यवस्था गर्नुपर्छ। बजारलाई चलायमान बनाउने विषयमा मौद्रिक नीति केन्द्रित हुनुपर्छ। आगामी मौद्रिक नीतिमा यी विषय समेटिन्छन् भन्ने हाम्रो अपेक्षा छ। राष्ट्र बैंकलाई यी व्यवस्था गर्न अनुरोध छ। अहिले बैंक तथा वित्तीय संस्थामा तरलता प्रशस्त मात्रामा थुप्रिएको छ। लेन्डिङतर्फको ब्याजदरमा एकरूपता आउन सकेको छैन। राष्ट्र बैंकले ब्याजदरलाई एकरूपता कायम गर्न र एकल बिन्दुमा झार्न भूमिका खेल्नुपर्ने आवश्यकता छ। यस्तो भए लगानीकर्ताले राहत महसुस गर्छन्। अब आउने मौद्रिक नीतिले यस्ता विषयलाई सम्बोधन गरेमा नेपाली पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान छ।
सरकारले आगामी दिनमा नियामक निकायमा नियुक्त गर्ने व्यक्ति राजनीतिबाट प्रेरित हुनुहुँदैन। महत्त्वपूर्ण निकायमा बस्ने मानिस राजनीतिक भागबन्डाभन्दा प्रतिस्पर्धा र क्षमताका आधारमा ल्याइनुपर्छ। प्रतिस्पर्धा, क्षमता र विज्ञताको आधारमा नियामक निकायमा नियुक्ति गरिएको भए आज लगानीकर्ताले यस किसिमको कठाइ भोग्नुपर्ने थिएन। स्वतन्त्र व्यक्ति हुनुपर्ने निकायमा राजनीतिक भागबन्डा र आफ्नो मान्छे नियुक्ति गर्ने कार्य राम्रो होइन। विज्ञता, योग्यता र क्षमता नहेरी नियामक निकायको नेतृत्वमा पुर्याएको खण्डमा कसैलाई पनि राम्रो गर्दैन। आगामी दिनमा यस विषयलाई सरकारले सुधार गरेर अगाडि बढ्नुपर्छ।
सरकारमा फरक गठबन्धन छ। धेरै पार्टी मिलेर सरकार चलाइरहेको अवस्था छ। धेरै दल मिलेर सरकार बनेको हुनाले नियामकले सरकारलाई असहयोग गर्ने र सरकारले पनि नियामकलाई साथ नदिने कार्य हुँदै आएको छ। यसकारण विभिन्न क्षेत्रमा नकारात्मक असर पर्ने गरेको छ। यद्यपि, अब मुलुकमा दुई ठूला दल कांग्रेस-एमाले मिलेर सरकार बनाउँदै छन्। यसलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन्। अहिलेको सहमतिअनुसार अगाडि बढे करिब करिब दुई तिहाइको सरकार बन्न सक्ने सम्भावना देखिन्छ। त्यसैले पनि मुलुकमा आर्थिक गतिविधि चलायमान हुने आशा पलाएको अवस्था छ। यो विषयलाई बुझेर नियामकमा बस्ने नेतृत्वले पनि नीतिगत रुपमा सहजताको बाटो खोलिदिनुपर्छ।
अहिलेको समग्र अवस्था बुझेर मौद्रिक नीति ल्याउन र अवलम्बन गर्न सकेको खण्डमा त्यसले बजार चलायमान हुन्छ। बजार चलायमान हुँदा राजस्व प्राप्ति तथा हरेक ढंगमा राज्यलाई फाइदा पुग्छ।
नीति सहज भएमा घरजग्गा र सेयर बजारको साथमा अन्य क्षेत्र पनि चलायमान बन्दै जाने देखिन्छ। सेयर बजार चलायमान भए यसले अन्य क्षेत्रलाई चलायमान बनाउन पनि भूमिका खेल्छ। त्यसैले यो क्षेत्रलाई संकुचनमा ल्याउनुको सट्टा थप चलायमान र विस्तारको कार्यमा नियामक तथा राज्य लाग्नुपर्छ। बजारमा हामीले राम्रो सन्देश दिन सक्यौं र अर्थतन्त्र चलायमान बनाउन आवश्यक नीतिगत व्यवस्था गर्दै गयौं भने हिजोका दिनमा विक्षिप्त भएर बसेका लगानीकर्ता बजारमा फर्कन सक्छन्। पुँजी बजारले धराशयी बनाउँछ भन्ने सोच लगानीकर्तामा आए ती व्यक्ति यो क्षेत्रमा फर्कँदैनन्। यसर्थ, हिजोका दिनमा बजारमाथि लगाइएका नीतिगत नियन्त्रणलाई सुधार गरेर जानुपर्ने बाध्यात्मक परिस्थितिमा हामी छौं।
अहिलेको समग्र अवस्था बुझेर मौद्रिक नीति ल्याउन र अवलम्बन गर्न सकेको खण्डमा त्यसले बजार चलायमान हुन्छ। बजार चलायमान हुँदा राजस्व प्राप्ति तथा हरेक ढंगमा राज्यलाई फाइदा पुग्छ। लगानीकर्ताका संगठन तथा लगानीकर्ता एकजुट भएर बजारका विषयमा उठाउनुपर्ने धेरै विषय हामीले उठाउँदै आएका छौं। ज्ञापनपत्र दिने, सुझाव दिने, माग राख्नेलगायतका धेरै काम हामीले गर्दै आएका छौं। हामीले नियामक तथा नेतृत्वलाई भेटेर, आन्दोलनमार्फत तथा हरेक हिसाबमा बजारका लागि आवश्यक र गर्नुपर्ने माग राख्दै आएका छौं। राजनीतिक खोल ओढेर आउने नियामक नेतृत्वले भने यसलाई बेवास्ता गर्ने गरेका छन्। महत्त्वपूर्ण निकायले नै बजारलाई नजरअन्दाज गरेकाले आजका दिनमा यो किसिमको नियति भोग्नुपरेको हो।
अहिले लगानीकर्ताको आकार ठूलो हुँदै गएको छ। त्यसैले, लगानीकर्ताका मागलाई नजरअन्दाज गरेर कोही पनि बस्नुहुँदैन। यदि, सबै लगानीकर्ता एकजुट भएर सडकमा आए भने त्यसलाई राज्यले थेग्न सक्दैन। अब कसैले पनि लगानीकर्ताले बुझाएका मागलाई अक्षरशः सम्बोधन गरी बजारमा सकारात्मक भाव पस्कन ढिला गर्नुहुँदैन। लगानीकर्ताले राज्य भएको र नियामक भएको महसुस गर्न पाउनुपर्छ। यी निकायबाट सहयोग प्राप्त भएको महसुस लगानीकर्तामा हुनुपर्छ। यसलाई राज्यले पनि बुझ्न आवश्यक छ। नीतिगत अस्थिरतालाई अन्त्य गरेर अगाडि बढ्न पनि आवश्यक छ। हामीले हरेक क्षेत्रमा निश्चित समयसम्मका लागि नीतिगत स्पष्टता कायम गर्नुपर्छ। यो विषय लामो समयदेखि उठाउँदै आएका पनि छौं।
राज्यले आजको नीति हेरेर भोलिका लागि लगानी गर्छन्। भोलि कस्तो नीति आउने हो भनेर अहिले नै त्रसित हुनुपर्ने स्थिति हाम्रोमा छ। यो अवस्था राज्यले अन्त्य गर्नुपर्छ। लगानीकर्तामा नीतिगत फन्दामा परिँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ। राज्य भनेको नागरिकको पुँजीको तथा लगानी रक्षा गर्ने निकाय पनि हो। त्यसैले यो विषय राज्यले बुझ्न आवश्यक छ। राज्य निरीह नबनी र लगानीकर्ताको लगानीप्रति उत्तरदायी बनेर नीति निर्माण गर्नुपर्छ। छिनछिनमा हुने नीतिगत परिवर्तनका कारण एकातर्फ बजार शिथिलता आएको छ भने अर्कोतर्फ बजार छोडेर लगानीकर्ता बाहिरिएको अवस्था छ। लगानीकर्तामा आत्मविश्वास बलियो नभएकाले स्थिर नीतिको खोजी भइरहेको छ। सरकारका पात्र परिवर्तन हुनासाथ नीति परिवर्तन गर्ने विषयको अन्त्य हुनुपर्छ। दीर्घकालीन नीति बनाउनुपर्छ। हरेक समयमा फरक फरक नीति अपनाएर लगानीकर्तामा त्रासको वातावरण सिर्जना गर्ने कार्य अन्त्य गर्नुपर्छ।
यस्तै, हामीले बाफिया ऐनका विषयमा पनि पटक-पटक कुरा उठाउँदै आएका छौं। बजेट आउनु अगाडि विशेषगरी बाफिया ऐनको विषय उठाइन्छ। बाफिया ऐनको विषयमा अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि यो निरन्तर चलाइरहने विषय होइन। बाफिया ऐन एक/एक वर्षमा परिवर्तन गर्ने हो भने बैंक तथा वित्तीय संस्थालाई टिक्न र लगानीकर्तालाई विश्वास गर्न कठिन हुन्छ। त्यसकारण लगानीकर्ताहरू विश्वस्त हुने गरी ऐन बनाउन आवश्यक छ। यो राजनीतिक मुद्दाका आधारमा पटक-पटक परिवर्तन गर्ने र बजारमा नराम्रो स्थिति सिर्जना गर्ने कार्य गरिनु हुँदैन।
बजार राम्रो बनाउन नियामक, ब्रोकर र लगानीकर्ता सबैको भूमिका हुनुपर्छ। ब्रोकर र लगानीकर्ता भनेका एउटै रथको दुई पाङ्ग्रा हुन्। यी दुवैको एकअर्काबिना अस्तित्व हुँदैन। त्यसैले हाम्रो समान धारणा र एजेन्डामा हामी ब्रोकर लगानीकर्ताहरू सबै सँगै पनि छौं। हामी जुटेर नै यसमा लागिपरेका छौं। हामीले ब्रोकरका कामकारबाहीलाई नियालेर केही कमजोरी देखिए त्यसमा सुधारका लागि भन्ने गरेका छौं। उहाँहरूले लगानीकर्तालाई अब यसरी जानुपर्छ भनेर सल्लाह सुझाव दिने अवस्था सिर्जना गरेर गइरहेका छौं र जानुपर्छ। यो ब्रोकर र लगानीकर्ता दुवैको साझा स्थल हो। बजारलाई राम्रो बनाउने विषयमा दबाब दिने विषयमा हामी अगाडि बढिरहेका छौं।