काठमाडौं । तापक्रम कम भएसँगै बजारमा इलेक्ट्रिक घरायसी सामानहरुको माग बढ्न थालेको छ । लोडसेडिङ हटेकोले चिसोमा न्यानो बनाउने इलेक्ट्रिक हिटर, जग, गिजर, थर्मसलगायतका उपकरणको बिक्री बढेको व्यवसायीहरु बताउछन् ।
घर तथा कार्यालयमा कोठा तताउन हिटर तथा एसी, पानी तताउन तथा चिया कफी बनाउन इलेक्ट्रिक जगजस्ता उपयोगी उपकरणको माग निक्कै बढेको सिजी इलेक्ट्रिकल सेल्स म्यानेजर मनमोहन झाले बताए । उनका अनुसार बजारमा विगतको तुलनामा इलेक्ट्रिक उपकरण प्रयोग गर्ने उपभोक्ताहरु बढेका छन् । उनले भने ‘गत वर्ष भन्दा अहिले जाडो बढेको छ र इलेक्ट्रिकल सामानको माग पनि ३० प्रतिशत बढेको छ ।’
विगतका वर्षमा बढी बिक्री हुने ग्यास गिजरको माग यो पटक धेरै घटेको छ । उनले भने ‘यो वर्ष सबै भन्दा बढी इलेक्ट्रिकल गिजरको माग बढेको छ । बजारमा माग अनुसार सामा नपु¥याउन सकिएको छैन ।’
लोडसेडिङ हटेपछि ग्यासभन्दा इलेक्ट्रोनिक सामानको माग बढेको काठमाडौ महाबौद्धका व्यापारी दिनेश ढकालले बताए । उनले भने‘ विजुलीबाट चल्ने हो सामानहरु ग्राहकले सजिलै खरिद गर्छन् ।’ बजारमा बढ्दो माग कै कारण इलेक्ट्रिक उपकरणका दजनौ ब्राण्डहरु बजारमा देखिन्छन् ।
हिमस्टार, सामसुङ, ओर्लपुल, एलजी, सोनी, भिडियोकोन, सिजी, गोदरेज, हिटाची, बाल्ट्रा, इलेक्ट्रोलक्स, सानफोर्ड, स्काईवर्थलगायत ब्राण्ड इलेक्ट्रोनिक सामाग्री बजारमा उपलब्ध छन् ।
यो वर्ष जाडो बढेको तथा लोडसेडिङ हटेकोले विद्युतीय सामानको व्यापार दोब्बरले बृद्धी भएको हिम स्टार इलेक्ट्रोनिकका सेल्स म्यानेजर चन्द्रमणि आर्चायले बताए ।
औषतमा एक वर्ष वारेन्टी भएका यस्ता उपकरणहरु ब्राण्डेड सामाग्री चीन, जापान, कोरिया र भारतमा उत्पादन भएर नेपाली बजारमा आएका छन । तर बजारमा भने सस्तो खोज्ने धेरै भएकाले चीनबाटै आएका सामान बढी बिक्री हुने व्यवसायीहरुको भनाई छ ।
हलुका र जुनसुकै ठाउँ फिटिङ गर्न सकिने भएकाले भाडामा बस्नेहरूले गिजर बढी रुचाउँछन् । बजारमा ग्यास गिजर ६ हजारदेखि १५ हजारसम्म मूल्यका छन । भने इलेक्ट्रिक गिजर २ हजारदेखि २० हजार सम्मका छन् ।
त्यस्तै, इलेक्ट्रिक जग र कित्ली चार सयदेखि तीन हजार रूपैंयाँसम्ममा बढी बिक्री हुन्छन् । ३ लिटरदेखि ५० लिटरसम्म पानी तताउन र चिया, कफी समेत बनाउन सकिने इलेक्ट्रिक जग, कित्ली र थर्मसको माग सबैभन्दा बढि भएको व्यापारी ढकालले बताए।