काठमाडौं। सरकारले चालू आर्थिक वर्षको भुक्तानी अन्तिम दिन सोमबार (२४ असार) एकै दिन ३३ अर्ब ६१ करोड रुपैयाँ बढी भुक्तानी दिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
महालेखाका अनुसार असार २४ गते राती १२ बजेसम्म सरकारी कार्यालय, विभाग तथा मन्त्रालयका लागि एकमुष्ट ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँको चेक तथा भुक्तानी गरिएको हो।
यसमा कुल भुक्तानीमध्ये १४ अर्ब ४० करोड १३ लाख पुँजीगत खर्च र बाँकी नियमित खर्च भुक्तानी भएको हो।
असार १ यतामात्रै सरकारले १ खर्ब ७७ अर्ब १२ करोड ७१ लाख रुपैयाँ बजेट खर्च गरेको महालेखा जनाएको छ, जुन आर्थिक वर्षको कुल बजेटको १० प्रतिशत मात्रै बढी खर्च हो।
अन्तिम महिना असारमा कुल बजेटको १० प्रतिशत केही बढी बजेट खर्च हुनुले यस वर्ष पनि सरकारले असारे विकासलाई निरन्तरता दिएको देखिएको छ।
यो वर्ष विनियोजित बजेटको ७७.४४ प्रतिशत मात्र खर्च हुन सकेको छ। कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले चालूतर्फ ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख (विनियोजित बजेटको ८१.७९ प्रतिशत) खर्च गरेको छ भने पुँजीगत अर्थात् विकास खर्चतर्फ जम्मा १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख (विनियोजित बजेटको ५६.९७ प्रतिशत) खर्च गरेको महालेखाको विवरणमा उल्लेख छ।
आर्थिक वर्षको असार २४ सम्म सरकारले राजस्व तथा गैरराजस्व गरी १० खर्ब १५ अर्ब ८२ करोड २ लाख रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ।
सरकारले बजेटमार्फत १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य राखेकामा समीक्षा अवधिमा ९ खर्ब ८९ अर्ब ९६ करोड ५५ लाख संकलन गर्न सकेको छ भने गैरराजस्वबाट १ खर्ब १ अर्ब ४३ करोड २६ लाख रुपैयाँ संकलन भएको महालेखाले बताएको छ।
सरकारले आर्थिक वर्षका लागि ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँमा अनुदान लक्ष्य राखेकामा जम्मा २ अर्ब ७५ करोड ८० लाख मात्रै प्राप्त गर्न सकेको छ।