काठमाडौं । निजी एवं सार्वजनिक सवारी साधनमा विद्युतीय (ईभी) गाडीको प्रयोग बढिरहेका बेला अब मालवाहक गाडी (ट्रक) पनि नेपालमा भित्रिने भएको छ। साझा यातायातले सञ्चालन गरिरहेको विद्युतीय बस आयातकर्ता दिगो ग्रुप अफ कम्पनीले अबको केही महिनाभित्रै ८ टन क्षमताका विद्युतीय ट्रक ल्याउन लागेको हो।
ग्रुपका अध्यक्ष राजन रायमाझीले चीनबाट हिँडिसकेको गाडी अहिले भन्सारमा रोकिएको बताए। ‘अबको ३ देखि ४ महिनाभित्रमै नेपाली बजारमा ईभी ट्रक सार्वजनिक गर्ने तयारी थालेका छौं,’ अध्यक्ष रायमाझीले भने, ‘सामान बोक्न प्रयोग हुने ट्रकले इन्धन खपत घटाएर प्रदूषणसमेत रोक्नेछ।’
सार्वजनिक यातायातपछि सबैभन्दा बढी इन्धन खपत गर्ने ट्रक भएकोले सामान ढुवानीका लागि विद्युतीय गाडी प्रयोग हुँदा फाइदैफाइदा हुने उनको भनाइ छ। योसँगै ४, २ र १ टन क्षमता भएका ट्रक चीनबाट आयात भई भन्सारमा रोकिएको उनले जानकारी दिए।
दिगो ग्रुपले ल्याउन लागेको ट्रकमा दुई वैकल्पिक भिन्नताका पावर ट्रेन रहेका छन्। जेएसी मोटर्सको पावर १ मा ६५/१३० किलोवाटको पिक पावर छ, जसले ४४५/१२०० न्यूटन मिटर टर्क जेनेरेट गर्दछ। जेएसी मोटर्सको २ मा ९०/१७१ किलोवाटको पिक पावर छ।
यसले ५५०/१०५० न्यूटन मिटर टर्क जेनेरेट गर्दछ। यो ट्रक तीन भेरियन्टको रहेको छ, जसको पावर र फिचरमा विभिन्न फरकपना रहेको रायमाझीले बताए। यसको मूल्य भने सार्वजनिक गरिएको छैन।
एन५५ ईभी
एन ५५ ईभीमा १०६.९५ किलोवाट आवरको लिथियम ब्याट्री जडान गरिएको छ। एन ५५ ईभीको लम्बाइ ५९९५ एमएम चौडाइ, २१६० एमएम, र उचाइ २३२३ एमएम रहेको कम्पनीले जनाएको छ। एन ५५ ईभीमा ३३६५ एमएम को ह्वीलबेस छ। यसको पछाडिको डबल टायर २१५/७५ आर १७.५ छ। यसको ग्राउन्ड क्लियरेन्स २२८ एमएम छ।
एन ५७ ईभी
एन ५७ ईभीमा १०६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यसको लम्बाइ ७०५० एमएम २१०५ एमएम र चौडाइ २३२३ एमएम रहेको छ। यसको ह्वीलबेस ३८४५ एमएम छ। यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम रहेको छ।
एन ९० ईभी
एन ५५ ईभीमा १०६.९५ किलोवाट आवरको लिथियम ब्याट्री जडान गरिएको छ। यसको लम्बाइ ७८८० एमएम, चौडाइ २१०५ एमएम र उचाइ २३२३ एमएम छ। यसको ह्वीलबेस ४४७५ एमएम छ। यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ।
३४ सिटे बस
चिनियाँ विद्युतीय ब्रान्ड स्काईवेलको ३४ सिट क्षमताको बस नेपाल आइपुगेको छ। नेपालमा इलेक्ट्रिक बस तथा माइक्रोबस आयातकर्ता दिगो ग्रुप अफ कम्पनीले स्काईवेल ब्रान्डको डब्लु ८० मोडलको ३४ सिट क्षमताका नयाँ यात्रुवाहक बस ल्याएको हो।
स्काईवेल डब्लू ८० बस एक पटकको फुल चार्जमा २ सयदेखि २२० किलोमिटरसम्मको माइलेज दिनेछ।
स्काईवेल डब्लू ८० बसमा १६९ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। बसको लम्बाइ ८२४५ एमएम, चौडाइ २४८० एमएम र उचाइ ३३३० एमएम र यसको ह्वीलबेस ४४५० एमएम रहेको छ।
दिगो ग्रुपले नेपाल भित्र्याउन लागेको स्काईवेल डब्लू ८० बसमा लक्जरी सिटका साथै फुल सिटमा सिट बेल्ट रहेको छ। स्काईवेल डब्लू ८० मा १५० किलोवाटको मोटर जडान गरिएको छ। बसको मूल्य भने केही समयपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।