काठमाडौं । नेपालको पहिलो फुड रियालिटी शो 'सेफ नेपाल'को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ। विविध कारणले रोकिएका बाँकी एपिसोड आगामी बिहीबार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने सेफ नेपालले जनाएको छ।
आउँदो शनिबार एक जना उत्कृष्ट प्रतिस्पर्धी पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने पत्रकार सम्मेलनमा सेफ नेपालका परिकल्पनाकार एवं क्रियटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।
ललितपुर बुङमतिमा रहेको अत्याधुनिक इनडोर अम्युजमेन्ट पार्क द वन्डरल्यान्ड बाँकी एपिसोडका लागि मुख्य प्रायोजकमा जोडिएको छ। सेफ नेपाल उत्कृष्ट रियालिटी शो भएकाले मनोरन्जन विधामा हातेमालो गर्न प्रमुख प्रायोजकको रुपमा शोसँग जोडिएको द वन्डरल्याण्डका मार्केटिङ हेड शिखर बस्नेतले बताए। बाँकी एपिसोडमा उद्घोषकको रुपमा मिडियाकर्मी रक्षा उप्रेती जोडिएकी छन्।
कार्यक्रमको निर्णायकमा मास्टर सेफ सन्तोष साह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका छन्। एक सय प्रतियोगी छनोट गरी सुरू भएको शोमा उत्कृष्ट आठ प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ।
धर्म पिक्चर्सको ब्यानरमा निर्माण भएको कार्यक्रमको अब आउने एपिसोड थप रोमान्चक हुने कार्यक्रमका निर्माता एवं धर्म पिक्चर्सका संस्थापक धर्मराजले दाबी गरे।
कार्यक्रमको फाइनल एपिसोड कान्तिपुर टिभीमा प्रसारण भएसँगै सेफ नेपालको युट्युब च्यानलमा समेत हेर्न सकिनेछ ।
विश्वका विभिन्न कुकिङ प्रतियोगितामा सफल भई नेपालको नाम विश्वभर फैलाएका मास्टर सेफ साह मुख्य निर्णायककर्ताको भूमिकामा छन्।