काठमाडौं। ग्लोबल आइएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच दिगो साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठ उपस्थित सम्झौता कार्यक्रममा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरे।
सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान बिन्दुको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ। सम्झौतापछि राज्यको प्राथमिकतामा रहेको प्रविधि क्षेत्रलाई विस्तार गर्न सहयोग पुग्ने विश्वास पोखरेलले व्यक्त गरे।
दिगो साझेदारी सम्झौताअन्तर्गत बैंकले नास–आईटीस“ग सम्बन्धित संस्था र आवद्ध कर्मचारीका लागि सहज तथा सुलभ तवरले बैंकिङ उपलब्ध गराउनेछ। यस्तै, सीपमूलक कार्यक्रम आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीको ज्ञान, सीप, अनुभव विकासमा सहयोगी हुने विश्वास बैंकको छ।
हाल ३५४ शाखाबाट बैंकिङ कारोबार गर्दै आएको बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।
बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्द्धन, स्टार्टअप र साना व्यवसायलाई समर्थन, शिक्षा एवं सीप विकासलाई प्रवद्र्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ।