काठमाडौं। नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको २०औं वार्षिक साधारणसभाले आगामी एक वर्षका लागि शुभम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
गत शुक्रबार सम्पन्न साधारणसभाबाट सञ्जीव सिक्देल प्रथम उपाध्यक्ष, रोमन कट्टेल द्वितीय उपाध्यक्ष, संयम श्रेष्ठ कोषाध्यक्ष, रितेश खनाल कार्यक्रम संयोजक, उत्कृष्ट भट्टराई लर्निङ सेसन संयोजक चयन भएका छन्।
त्यसैगरी आर्नेष श्रेष्ठ च्याप्टर संयोजक, अभिषेक केडिया सञ्चार संयोजक, अंकिता गिरी कानुनी सल्लाहकार, नवीन झुनझुनवाला कार्यसमिति सदस्य र संगीता धमला सचिवालय प्रमुखमा चयन भएकी हुन्।
साधारणसभामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबल अर्थतन्त्र निर्माण, आर्थिक विकास एवं स्थायित्वका लागि युवाहरुको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए।
उनले औद्योगिक विकासका सन्दर्भमा युवाहरुले रचनात्मक सोचका साथ प्रारम्भ गरेको व्यापार व्यवसायले विश्व बजारमा एकाधिपत्य कायम गर्न सफल भएको उदाहरण दिँदै युवा जनशक्ति देश विकासको मेरुदण्ड भएको औंल्याए।
मुख्यमन्त्री कार्कीले युवाहरुको सीपलाई व्यवसायमा रुपान्तरण गरी प्रदेशलाई उद्यममैत्री बनाउन सरकारले स्टार्टअप, युवा, महिला तथा भिन्न क्षमता भएका व्यक्तिको उद्यमशीलता प्रवर्द्धन गर्ने नीति लिएर अघि बढेको जानकारी दिए।
नेपाली युवा उद्यमी मञ्च विराटनगरका नवनिर्वाचित अध्यक्ष भट्टराईले युवाहरु परिवर्तनका संवाहक भएकाले आर्थिक समृद्धि र औद्योगिक विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरे।
वित्तीय व्यवस्थापन अभाव र नीतिगत जटिलता युवा उद्यमशिलता विकासका लागि बाधक भएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले त्यसलाई सहज वनाई युवालाई उद्यमशीलता विकासतर्फ अग्रसर हुन अभिप्रेरित गर्नुपर्ने बताए।
नेपाली युवा उद्यमी मञ्च विराटनगरका निवर्तमान अध्यक्ष रञ्जित भगतले नवनिर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा मञ्चले उद्यमशीलता विकासका सन्दर्भमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष शाहरा जोशीले सन २००३ मा स्थापित मञ्चको हाल ११ वटा च्याप्टरमा १ हजार बढी युवा उद्यमी आबद्ध रहेको बताए। आगामी दिनमा अन्य सहरमा समेत विस्तार गरी युवा लक्षित कार्यक्रम गर्दै जाने जानकारी दिइन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना तथा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष एवं नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका संस्थापक अध्यक्ष सुयश प्याकुरेलले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिए।