काठमाडौं । बैंकिङ क्षेत्रमा संलग्नहरुलाई महिना अन्त्य नजिँकिँदै गर्दा ‘बैंक ब्याजदर’ बारे चासाे बढ्छ।
असार अन्तिम साता सुरु भएसँगै बैंकिङ क्षेत्र सम्बद्धहरू साउनमा बैंकको ब्याजदर के हुन्छ भनेर ‘पर्ख र हेर’ को अवस्थामा छन्। तर, साउनमा बैंक ब्याजदरमा निक्षेपतर्फ स्थिर रहने र कर्जाको भने घट्ने देखिएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक) लाई पछिल्लो महिना लागू हुने कर्जा तथा निक्षेपको ब्याजदर अघिल्लो महिनाको मसान्तमै सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ।
चालू वर्षको तेस्रो त्रैमासदेखि नै बैंकहरुलाई स्रोत व्यवस्थापन अर्थात् निक्षेप संकलनमा सहज हुँदै गएको छ। यसले गर्दा लगानीयोग्य रकम (तरलता) पर्याप्त हुँदा बैंकहरुलाई ब्याजदर बढाएरै निक्षेपकर्तालाई आकर्षित गर्नुपर्ने बाध्यता छैन।
असार २१ सम्म बैंकिङ प्रणालीमा १ खर्ब ४७ अर्ब ९७ करोड रुपैयाँ तरलता मौज्दात रहेको छ भने, कर्जा निक्षेप अनुपात ७९.०९ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशतकै हाराहारी छ।
विगत ३ महिनायता औषतमा निक्षेपको ब्याजदर सामान्य घटिरहेको देखिन्छ। बैंकहरूले निक्षेपको अधिकतम ब्याजदरमा वैशाखमा चैतको भन्दा औषत ०.१९ प्रतिशत बिन्दु, जेठमा वैशाखको भन्दा ०.०७ प्रतिशत बिन्दु र असारमा जेठको भन्दा ०.१२ प्रतिशत बिन्दुले घटाएका थिए।
तर, साउनमा भने सामान्य दरमा पनि बैंकहरुको निक्षेपमा ब्याजदर घट्न सक्ने नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्। ‘अहिले बैंकहरुलाई ब्याजदर बढाएर निक्षेप संकलन गर्नुपर्ने अवस्था छैन, सरकारले खर्च बढाउँदा पनि अहिले बैंकहरुमा निक्षेप आइरहेको छ,’ संघ उपाध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘साउनमा बैंकहरुले निक्षेपको ब्याजदर बढाउने वा घटाउनुपर्ने कारण नहुँदा स्थिर नै रहन सक्छ।’
एक वर्षअघिसम्म बैंकहरु मिलेर ‘भद्र सहमति’ मा राष्ट्र बैंकले तोकेको दायरामा रहेर ब्याजदर थपघट गर्ने गरेका थिए। तर, गत वर्षको साउनयता बैंकहरुले आफ्नो अनुकूलतामा नियामकीय प्रावधानमा रहेर बैंकको ब्याजदर परिवर्तन गर्छन्। केही बैंकहरुले सामान्य अंकले ब्याजदर परिर्वतन गरे पनि अधिकांशले साउनमा पनि असारमा लागू ब्याजदरलाई निरन्तरता दिन सक्ने उनको अनुमान छ।
‘साउनदेखि डिबेञ्चरको पैसा तरलतामा गणना गर्न मिल्दैन। त्यसअघि नै यस्तो पैसा मिलाउनुपर्नेछ। साउनमा घटाएर अहिले आइरहेको निक्षेप पनि गुमाउनु छैन,’ संघका उपाध्यक्ष कोइरालाले भने, ‘अहिले सरकारको पैसा आए पनि यो स्थायी हुँदैन। त्यसैले मौद्रिक नीतिले ब्याजदरमा कस्तो व्यवस्था गर्छ भनेर बैंकहरु स्थिर रहेर पर्ख र हेरमा बस्छन्।’
तर, बैंकर एसोसिएसनले बैंकहरूलाई निक्षेपको ब्याजदर आफैं निर्धारण गर्न खुला गरेका कारणले पनि अधिक तरलता भएका बैंकले घटाउन सक्ने वा डिबेञ्चरको सेटलमेन्टले साउनदेखि स्रोत अभाव हुन सक्ने बैंकहरुले बढाउन सक्ने उनको अनुमान छ। अहिले औषतमा वाणिज्य बैंकहरुले निक्षेपमा औषत ६.८८ प्रतिशत ब्याजदर दिइरहेका छन्। निक्षेपको ब्याजदर निरन्तर घटिरहेको हुँदा खर्च कम भई कर्जाको ब्याजदरसमेत घट्ने उनको अनुमान हो।
यता, विकास बैंकहरु र वित्त कम्पनीले समेत साउनमा निक्षेपको ब्याजदर स्थिर राख्ने मनस्थिति बनाएका छन्। बैंकमा निक्षेप संकलनको तुलना कर्जा प्रवाह न्यून भएको हुँदा ब्याजदर बढाउनु पर्ने अवस्था नहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले बताए।
‘बैंकहरुमा निक्षेप संकलन भएअनुसार कर्जाको कर्जा प्रवाह हुन सकेको छैन। दर बढाएर निक्षेप संकलन गर्नुपर्ने अवस्था नभए पनि भएको निक्षेप घटाउने मनस्थितिमा बैंक छैनन्,’ संघका अध्यक्ष श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘निक्षेपको ब्याजदर जति घट्न घटिसक्यो, अब घट्ने ठाउँ छैन, साउनमा ब्याजदर पहिलेकै कायम हुन सक्छ।’
विकास बैंकहरुले साउनका लागि निक्षेपको ब्याजदर असारकै निरन्तरता दिएर कर्जासमेत सोहीअनुसार परिवर्तन गर्ने सक्ने उनको अनुमान छ। हिजोको दिनमा घटेको निक्षेपको ब्याजदरले खर्च घटाएर अब कर्जाको ब्याजदरसमेत घट्ने देखिन्छ।
साउनमा वित्त कम्पनीहरुले समेत निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्। असार मसान्तले गर्दा नयाँ कर्जा नगएको र सरकारी खर्च बढ्दा निक्षेप संकलन बढेको हुँदा वित्त कम्पनीहरुले थपघट गरेर ब्याजदर परिवर्तन नगर्ने वित्त कम्पनी बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल पन्त बताउँछन्।
‘निक्षेप संकलन पहिले जसरी नै बढिरहेको छ। बैंकहरु रिकोभरीमा लागेका छन्। कर्जा माग छैन,’ अध्यक्ष पन्तले क्यापिटल नेपालसँग भने, ‘निक्षेपको ब्याजदर बढ्दैन भने कर्जाको आधारदरसमेत घट्दै जान्छ। वित्त कम्पनीहरुले निक्षेपको ब्याजदर अब केही समय स्थिर नै राख्छन्।’
वित्त कम्पनीलाई निक्षेपको ब्याजदर बढाउनुपर्ने वा घटाउनुपर्ने आवश्यकता तत्काललाई नभएको हुँदा साउनमा ब्याजदर स्थिर रहन सक्ने उनको अनुमान हो।