काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि देशभर मनसुनी सक्रियता घट्दै जाने जनाएको छ।
आइतबार दिउँसो विशेष मौसम बुलेटिन जारी गर्दै विभागले मनसुनी न्यूनचापीय रेखा सोमबारदेखि दक्षिणतिर सर्ने भएकाले सक्रियता घट्ने जनाएको हो।
यससँगै लगातार परिरहेको झरी सोमबारदेखि घट्नेछ। पछिल्ला तीन दिन मनसुनी न्यूनचापीय रेखा नेपाल नजीक भएकाले भारी वर्षा हुँदा देशका अधिकांश स्थानमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनेको थियो।
सोमबारदेखि वर्षाको क्रम थामिए पनि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा अत्यधिक वर्षाको सम्भावना भने यथावत् रहेको विभागको भनाइ छ। मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी भने अपनाउन आग्रह गरेको छ।