काठमाडौं । गत साता नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारबाट अलग भएर नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने निर्णय सार्वजनिक भएसँगै सेयर बजारमा ठूलो उतारचढाव देखिएको छ। गत साता आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.८३ अंकले घटेकोमा सोमबार एमाले र कांग्रेसले सत्ता सहकार्य गर्ने चर्चा चलेसँगै नेप्से १६.२९ अंकले बढ्यो। तर, मंगलबार बिहान एमाले र कांग्रेस मिलेर सरकार बनाउने निर्णय सार्वजनिक भएसँगै सूचकले ठूलै छलाङ हान्यो। कारोबारको सुरुमै दुई पटक सकारात्मक सर्किट लागेर खुलेको बजार त्यसपछि भने सम्हालियो र अन्तिममा ४७.०४ अंकले बढेर कारोबार रोकियो। बुधबार र बिहीबार पनि बजार सकारात्मक लयमै देखियो। यसरी गत साता ५ मध्ये ४ कारोबार दिन नेप्से सूचक ६७.७८ अंकले बढेर २११९.७० अंकमा रोकियो।
गत साता कारोबार रकममा पनि सुधार आएको छ। गत साता नेप्सेमा २२ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि अघिल्लो साता २१ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। गत साता संघीय संसद्का दुई ठूला राजनीतिक दलबीच सत्ता सहकार्य र संविधान संशोधन गर्ने सहमतिले सेयर बजारलाई राम्रै प्रभाव पार्ने देखिन्छ। सेयर बजारका लगानीकर्ता नीतिगत सुधारसँगै राजनीतिक स्थायित्वको खोजीमा छन्। एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा राजनीतिक स्थिरता कायम हुने अपेक्षा लगानीकर्ताहरूको छ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेल लगानीकर्ता जहिल्यै नीतिगत स्थिरता र राजनीतिक स्थायित्वको खोजीमा रहेको बताउँछन्। ‘दुई ठूला दल मिलेर सरकार बनेमा राजनीतिक स्थिरता कायम हुने अपेक्षा गर्न सकिन्छ। जुन समग्र लगानीकर्ताका लागि सकारात्मक विषय हो,’ अध्यक्ष फुल्लेल भन्छन्, ‘दुई ठूला दलको संयुक्त सरकारले लगानीकर्ताको थोरै भए पनि मनोबल उकास्ने काम गर्छ।’
सोमबार कांग्रेस र एमालेबीच सरकार बन्ने सहमति बाहिरिएसँगै सकारात्मक प्रभाव परेको नेप्सेमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएर विश्वासको मत लिने बताएसँगै केही मत्थर भएको थियो। प्रधानमन्त्री दाहालले विश्वासको मत लिन ३० दिनको समय पाउने संवैधानिक व्यवस्थाले सरकार परिवर्तनमा लामो समय समय लाग्ने अपेक्षाले लगानीकर्ता केही हच्किएका थिए। तर, प्रधानमन्त्री दाहालले शुक्रबार असार २८ गते विश्वासको मत लिने सूचना संघीय संसद्मा दर्ता गराएकाले यो साता सेयर बजारमा थप सकारात्मक प्रभाव पर्न सक्छ। यद्यपि गत साताको वृद्धिमा नाफा कमाएका ट्रेडरहरूले नाफा ‘बुक’ गर्ने रणनीति लिएमा भने सूचक केही शिथिल हुन सक्छ। तर, अब विगतजस्तो ठूलो गिरावट देखिने सम्भावना कम छ।
कंग्रेस र एमालेबीचको सहमतिअनुसार अर्थ मन्त्रालयको बागडोर एमालेको हातमा आउने छ। एमाले सरकारमा सहभागी हुँदा र अर्थ मन्त्रालयको बागडोर हातमा लिँदा सेयर बजारमा सकारात्मक प्रभाव धेरै पर्ने गरेको छ। सेयर बजारले एमालेका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बढी रुचाएको देखिन्छ। २०७९ पुस ११ मा पौडेल अर्थमन्त्री हुँदा पहिलो दिनको कारोबारमै नेप्से ५६.८६ अंकले बढेको थियो। २०७२ पुसमा त्यसअघिको उच्च अंक ११७५ बिन्दुलाई उछिनेर सूचक अघि बढ्दा पौडेल नै अर्थमन्त्री थिए। त्यसैगरि २०७८ नेप्से १८८१ विन्दु पार गरेर अघि ३००० बाट अघि बढिरहँदा अर्थमन्त्री पौडेल नै थिए।
पछिल्लो पटक स्थिर सरकार रहेको आर्थिक वर्ष २०७४/७५ देखी २०७७/७८ ३ वर्षको अवधिमा नेप्से सूचक न्यूनतम ११०० विन्दुसम्म झरेर ३००० माथि चढेको थियो। यद्यपि त्यतिबेला कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानी वातावरण नभएकाले सेयर बजारमा बढी पुँजी लगानी (ऋणसमेत) भएको अनुमान छ। लगानीकर्ताले जहिले पनि नेप्से सूचक हेरेर भन्दा पनि कम्पनी र क्षेत्र तथा आफ्नो रुचि हेरेर लगानी गरेमा सेयर बजारबाट फाइदा उठाउन सक्छन्। यद्यपि आगामी साता केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा अर्थमन्त्री को बन्छ भन्ने टुंगो छैन। तथापि ठुला दल मिलेर बनेको सरकार तत्कालै नढल्ने र नीति पनि केही समयका लागि स्थिर हुने भएकाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताहरूको विश्वास छ। त्यसको संकेत एमाले कांग्रेस मिलेर सरकार बनाउने निर्णयपछिको बजारले गरिसकेको छ।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे स्वतन्त्र छोडिदिनुपर्ने सेयर बजारलाई नियामक निकायको नियन्त्रणमुखी र ऋणमा सीमा तोक्ने (क्याप लगाउने) नीतिले एकाधिकारतर्फ धकेलेको बताउँछन्। ‘सेयर बजारमा गरिएको नियामकको हस्तक्षेपले लगानीकर्ताको विश्वास बिस्तारै गुम्दै गयो र बजार छोड्नेको संख्या बढ्दै जाँदा अहिलेको परिस्थिति बनेको हो,’ अध्यक्ष रजौरे भन्छन्, ‘हाल ट्रेडरको कारण मात्रै बजार चलेको छ। वास्तविक रूपमा सेयर बजार चल्न सकेको छैन र थप लगानीकर्ता बजारप्रति आकर्षित हुन सकेका छैनन्।’ विगतमा नियामकले गरेको गल्ती सच्याउनु आवश्यक रहेको रजौरेको भनाई छ।
त्यसो त नेपाल राष्ट्र बैंकले साउन पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ। लगानीकर्ताले मौद्रिक नीतिमार्फत सेयर कर्जामा लगाइएको क्याप हटाउनु पर्ने, भारित औसत जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशतभन्दा बनाउनुपर्ने, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबारको व्यवस्था गर्नुपर्ने, सेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्याउनुपर्ने, सेयर ऋणमा लिने गरिएको महँङ्गो ब्याजमा लगाम लगाउनुपर्ने माग अघि सारेका छन्। मौद्रिक नीतिमा लगानीकर्ताका सुझाव समेटिएर सेयर कारोबारमा कर्जा प्रवाह हुनेगरी नीति अवलम्बन गरिएमा थप उचाइ प्राप्त गर्न सक्छ। गभर्नर महाप्रसाद अधिकारीले पनि आगामी मौद्रिक नीति केही खुकुलो हुने बताउँदै आएका छन्।
२०७८ भदौदेखि ओरालो लागेको सेयर बजारले लय समात्न लगानीकर्ताको मनोबल उकास्नु जरुरी छ। गत फागुनमा अथमन्त्री बनेको वर्षमान पुनले सुरुमा लगानीकर्तालाई सेयर बजारको समस्या समाधान गर्ने बचन दिए पनि व्यवहार त्यसअनुरूप नगर्दा लगानीकर्ता निराश छन्। अझ २०८० पुस २० देखि खाली रहेको सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा देखाएको ‘दोगलापन’ले लगानीकर्ता थप निराश बनेका छन्। आगामी सरकारले लगानीकर्ताको मनोभाव बुझेर सुधारका प्रयास अघि बढाएमा सकारात्मक प्रभाव देखिने छ।