बागलुङ। अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ। जैमिनी–१ र वडा–४ को बीच भएर बग्ने ठेउले खोलामा निर्माण भएको जलविद्युत् आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो।
कुश्मीसेरा, सुर्कवा व्याडथला सडक खण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पु¥याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लीलानाथ पौडेलले बताए। पहिरोका कारण बाँध पुरिँदा विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको उनले जानकारी दिए।
उनले १.५ मेगावट विद्युत् उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए। पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मीसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए।
बाढीले जलविद्युत् आयोजनामा क्षति
अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण स्याङ्जाको आँधीखोला जलविद्युत् आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा बाढीले क्षति पु¥याएपछि आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो।
आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी संकलन पोखरीमा ढुंगा, गिटी, बालुवा भरिएको बिपिसीका प्रमुख डोल खरेलले बताए।
गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मीका केही भेग र पर्वतको केही भेग गरी करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको प्रमुख खरेलले जानकारी दिए।
वालिङ–६ स्थित मिर्दी खोलामा आएको बाढीले मिर्दी बजार नजिकै रहेको वितरण लाइनको पोल बगाएको छ।मर्मतका लागि प्राविधिक र उपकरण तयारी अवस्थामा भएपनि ठाउँठाउँमा सडक अवरुद्ध भएकाले कठिनाइ भइरहेको बिपिसीका प्रमुख खरेलले जानकारी दिए।–रासस