काठमाडौं। अटोमोबाइल क्षेत्रकै ठूलो प्रदर्शनी नाडा अटो सो आगामी भदौ दोस्रो साता हुँदै छ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा हुने नाडा अटो सो–२०२४ भदौ ११ देखि १७ सम्म राजधानीको भृकुटीमण्डपमा गर्ने तयारी छ। नाडा अटो सोलाई अटो व्यवसायीले उत्पादन बिक्री वितरण मात्रै नभई ब्रान्डिङ गर्ने उपयुक्त प्लेटफर्मको रुपमा लिने गरेका छन्।
अटो सोमा व्यवसायीले हरेक वर्ष नयाँनयाँ मोडल र भेरियन्टका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन ल्याउने गरेका छन्। बढीभन्दा बढी ग्राहकलाई आफ्ना सवारीसाधनतर्फ आकर्षण गर्ने होडबाजी नै चल्ने भएकाले आकर्षक र उत्कृष्ट फिचर भएका सवारीसाधन भित्र्याउने योजनामा व्यवसायी हुन्छन्।
नाडा अटो सोमा लोकप्रिय बनेको जुनसुकै सवारीसाधन बिक्री राम्रो हुन्छ भने केही समयसम्म सोही सवारीले बजार तताउने गरेको छ।
यस वर्षको नाडा अटो सोमा पनि हरेक ब्रान्डले कुन सवारीसाधन ल्याउने भन्ने योजना बनाइसकेका छन्। कतिपयले यस वर्षको नाडा अटो सोमा लन्च गर्ने सवारीसाधनसमेत निश्चित गरिसकेका छन्। नेपालमा दुईपांग्रे सवारीसाधनको बजार राम्रो भएकाले थुप्रै ब्रान्डले अटो सोमा नयाँनयाँ मोटरसाइकल तथा स्कुटर ल्याउने तयारी गरिरहेका छन्।
त्यसमध्ये केही ब्रान्डले कुन सवारी ल्याउने भन्ने निश्चित गरिसकेका छन्।
गत वर्ष पनि करिब एक दर्जन बढी ब्रान्डले नाडा अटो सोमै ल्याएर विभिन्न सवारीसाधन लन्च गरेका थिए, जुन यस वर्ष पनि देख्न पाइनेछ। नाडा अटो सोमा यसपटक चेतक, एथर, भेस्पा, यामाहा, रोयल इन्फिल्ड, गोरओ, बजाज, अप्रिलिया, याडीयालगायत दुईपांग्रे सवारी ब्रान्डको नयाँ मोडल देख्न सकिनेछ। एथरको एपेक्स, रिज्टा र बजाजको चेतक स्कुटर नाडा अटो सोमा लन्च गर्ने गरी ल्याउने तयारी भइरहेको छ।
एपेक्स र रिज्टा भित्र्याउँदै एथर
गत वर्ष नेपाली बजारमा आएको भारतीय स्कुटर ब्रान्ड एथरले एपेक्स र रिज्टा नाडा अटो सोमा प्रदर्शन गर्ने तयारी छ। नेपालमा विद्युतीय स्कुटर एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एपेक्स र रिज्टा लन्च गर्ने भएको हो।
यस्तो छ रिज्टाको मूल्य र फिचर
एथरले ल्याउने रिज्टा तीन भेरियन्टमा उपलब्ध हुनेछ। यसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ। रिज्टा जेड ३.७ किलोवाट रिज्टाको टप भेरियन्ट हो।
कम्पनीले भारतीय बजारमा रिज्टा एसको मूल्य १ लाख १० हजार भारु, रिज्टा जेड २.९ किलोवाटको १ लाख २४ हजार र रिज्टा जेड ३.७ किलोवाटको १ लाख ४४ हजार भारु तोकेको छ।
रिज्टामा दुई राइड मोड दिइएको छ, जसमा जिप र स्मार्ट मोड रहेको छ। यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टीएफटी स्क्रिन, डिस्क ब्रेकजस्ता फिचरमा उपलब्ध हुनेछ। एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ। योसँगै रिज्टा पहिलो ट्रयाक्सन कन्ट्रोल फिचर भएको स्कुटर बन्न सफल भएको छ।
१ लाख ८९ हजार भारुको एपेक्स
नेपालमा विद्युतीय स्कुटर एथरको आधिकारिक वितरक वैद्य इनर्जीले नाडा अटो सोमा ल्याउने तयारी गरेको ४५० एपेक्स स्कुटरमा ३.७ किलोवाटको ब्याट्री छ। कम्पनीले भारतीय बजारमा एपेक्सको १ लाख ८९ हजार भारु मूल्य निर्धारण गरेको छ।
चेतक ईभी स्कुटर
चेतक हंशराज हुलास चन्द एन्ड कम्पनी प्रालिले नेपालमा चेतक स्कुटर ल्याउन लागेको छ। यो इलेक्ट्रिक स्कुटर हो। बजाज मोटरसाइकल बिक्री गर्दै आएको एचएचले बजाजको पहिलो इलेक्ट्रिक स्कुटरको रुपमा नाडा अटो सोमा चेतक स्कुटर लन्च गर्नेछ।
चेतकमा ३.८ किलोवाटको इलेक्ट्रिक मोटर र ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ। स्कुटरलाई सामान्य घरायसी विद्युत्ले फुल चार्ज गर्न ५ घन्टा लाग्ने छ। फुल चार्ज गरेपछि ८५ देखि ९० किलोमिटर गुडाउन सकिनेछ।
चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलईडी डीआरएलएस ल्याम्प दिएको छ। यसमा, एप्रोन माउन्टेड एलईडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने फक्स एयरभेन्ट जोडिएको छ।
यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिनेछ। स्प्लीट स्टाइल एलईडी टेलल्याम्प र इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्लुटुथ कनेक्टिभिटी फिचर दिइएको छ। क्लस्टरमै फोन कल, म्यासेज नोटिफिकेसन, टर्न बाई टर्न नेभिगेसनजस्ता फिचर पाउन सकिन्छ।