काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै छन्।
एमाले–माओवादी गठबन्धनपछि मधेस प्रदेशको मुख्यमन्त्री पाएको जनमत पार्टीले केन्द्रमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको छ।
यद्यपि पछिल्लो कांग्रेस–एमाले सत्ता सहकार्यपछि जनमतलाई नै मधेसको मुख्यमन्त्री दिइने सहमति भएको छ। सोही कारण एमालेले मुख्य मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिन प्रदेश सांसदलाई ह्वीप जारी गरेको छ।
कांग्रेसले पनि सिंहलाई विश्वासको मत दिने भएको छ। सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सिंहले प्रदेशसभामा विश्वासको मत लिन लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।
जनमत मधेस प्रदेशसभामा चौथो ठूलो दल हो। सिंह गत जेठ २५ मा प्रदेशको मुख्यमन्त्री बनेका थिए। जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन्। कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेशसभामा बहुमत पाउने पक्का भएको छ।
मधेस प्रदेशसभामा एमाले २५, कांग्रेस २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, नेकपा (माओवादी केन्द्र) का ९, नेकपा (एकीकृत समाजवादी) का सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक प्रदेशसभा सदस्य छन्।