काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको विभिन्न वर्षा मापन केन्द्रमा मध्यम तथा भारी वर्षा मापन भएको जनाएको छ।
उपत्यकामा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनार सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन महाशाखाको आग्रहले गरेको छ।
ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको छ। जल सतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्ट जारी गरेको हो।
पछिल्लो ८ घन्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रमा मध्यम–भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती, डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।
पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा,अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम र भारी वर्षा मापन, सो क्षेत्र भई बहने निस्ती खोलालगायत साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता महाशाखाको आग्रह छ।
मनसुनी वायुको प्रभावले देशैभर वर्षा भइरहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राती पनि देशैभर मौसम अदलबदली भई कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा आज ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ।