काठमाडौं। शुक्रबारदेखिको निरन्तर वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ। वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै तराईका बस्ती डुबानमा परेका हुन्।
भक्तपुरको हनुमन्ते खोलामा बाढी, स्थानीय बस्ती डुबानमा
निरन्तरको वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ। भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ।
भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राममन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ। सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ।
वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढीपहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताइन्।
जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उनले बताइन्।
कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने उनले बताइन्। बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ। भक्तपुरको सूर्यविनायकस्थित इन्द्र बक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनकुमार थापाले कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिमको खबर आए लगत्तै घटनास्थलमा पुग्ने बताए।
भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन्। चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेका बताइएको छ।
कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। दुई दिनदेखिको निरन्तर वर्षापछि आएको पहिरोका कारण करिडोरको बागलुङ र पर्वत खण्ड अवरुद्ध भएको हो।
बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा करिडोर अवरुद्ध भएको छ। करिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी,अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन बाटोमै ठप्प रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ।
‘लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन’, प्रहरी नायव उपरीक्षक यादवले भने। वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने यातायात सञ्चालनमा आएको छ।
मालढुंगा–बेनी सडक अवरुद्ध
यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक पनि अवरुद्ध भएको छ। भारी वर्षाका कारण कुश्मा नगरपालिका–१ मालढुंगा नजिक भीरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
आज बिहानदेखि सडक अवरुद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सीताराम ओझाले जानकारी दिए। सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन्। अन्यत्रबाट आएका सवारीसाधन मालढुंगामा रोकिएका छन्।
सिद्धार्थ राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। बिहीबार रातीदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ।
स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।
वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ। वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्ण रुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ। सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन्। यात्रु बीच बाटोमै रोकिएका छन्।
बीपी राजमार्गमा यातायात ठप्प
पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ।
राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रु अलपत्र परेका छन्। वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ। डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।
मध्यमहाडी राजमार्गअन्तर्गत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो। अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
हेटौंडा–काठमाडौं सडकमा पहिरो
बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक खण्ड अवरुद्ध बनेको छ। उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन। प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ।
यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ।
कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिइन्। त्रिभुवन राजपथ, हेटौंडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ।
बेंसीसहर–चामे सडक अवरुद्ध
पहिरोले बेसींसहर–चामे सडक अवरुद्ध भएको छ। सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए। पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन्। चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मंगलबार आएको बाढीले काठेपुल र मोटरेबल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए।
घोराही–तुलसीपुर सडक सडक अवरुद्ध
दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत सेवार खोलामा बनाएको डाइभर्सन बगेको छ। बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो।
सो ठाउँमा अहिले आवतजावत ठप्प छ। जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। घोराही उपमहानगर–१६ सेवार खोलामा चार लेनको पक्की पुल अधुरै छ।
बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा
गए रातीदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरका विभिन्न वडा डुबानमा परेका छन्। महानगरको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका हुन्।
सडकमै पानीकाे भेल पसेपछि स्थानीयको घरभित्र पस्न थालेको छ। जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचालन गरिएको वीरगन्ज महानगरको सरसफाइ शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए। डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ।
वर्षा भएपछि यहाँका किसान खुसी भएका छन्। पानी परेपछि रोपाइँ गर्न पाइने आसले उनीहरु खुसी भएका हुन्। पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतीयोग्य जग्गा रहेको छ। यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ।
नदी–खोला छेउछाउका बासिन्दालाई सतर्क रहन माेरङ प्रशासनकाे आग्रह
यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन माेरङ प्रशासनले आग्रह गरेकाे छ। जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोसी र मधेस प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे।
साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहने हुँदा वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बताए। बाढीपहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिइएको उनकाे भनाइ छ।
कर्णाली राजमार्ग अवरुद्ध
शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ।
सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए।