क्यापिटल नेपालको मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
फास्ट ट्रयाकअन्तर्गत मकवानपुरको लेनडाँडास्थित सुरुङ ब्रेक थ्रु भएको छ। असार २० मा बकैया र गढी पालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङ छिचोलिएको सेनाले जानकारी दिएको हो। योसँगै फास्ट ट्रयाकमा पर्ने तेस्रो सुरुङ छिचोलिएको छ। यसअघि दुई वटा सुरुङ छिचोलिइसकेका छन्। गत जेठ ४ मा लेनडाँडामा काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको र जेठ ११ गते धेद्रेमा निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६५३ मिटर लम्बाइको सुरुङमार्ग ब्रेक थ्रु गरिएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा ६० जनाविरुद्ध अवैध सुन तस्करी तथा अभौतिक मुद्रा कारोबारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। असार १८ मा काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा ६० मध्ये ५० जनालाई विभिन्न आठ वटा अभियोगमा सजाय हुनपर्ने माग सरकारी वकिल कार्यालयले गरेको छ। यसअघि २०८० भदौमा पनि २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो। ६० केजी सुन तस्करीमा दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पेसँग ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ बिगो दाबी गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा प्रतिवादीहरूले संगठित भई विभिन्न डमी कम्पनी खडा गरेको र ती कम्पनीका नाममा सुन पैठारी गर्ने गरेको कार्यालयको दाबी छ। सीआईबी अध्ययनमा सुन चोरी पैठारीमा संलग्न व्यक्तिबाट स्थापित विभिन्न पाँच कम्पनीबाट इलेक्ट्रोनिक मालबस्तु तथा ब्रेकसुमा गरी करिब ३० अर्ब ८४ करोड रुपैयाँ बराबरको ३ हजार १९४ किलो सुन तस्करी भएको देखिएको छ।
सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगी अभियोगमा व्यवसायी एवं पूर्वसांसद इच्छाराज तामाङ र उनका आफन्त केशवलाल श्रेष्ठविरुद्ध असार १९ मा ५ अर्ब बिगो दाबी गर्दै दोस्रो अभियोगपत्र दायर गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान सकेर सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो। उक्त अनुसनधान प्रतिवेदनको आधारमा नयाँ मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ। सहकारी ठगीमा तामाङ र तत्कालीन समयमा सहकारीका अध्यक्ष रहेको केशललाल श्रेष्ठसहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख बिगो माग दाबी गरेको छ। एमाले पूर्वसांसदसमेत रहेका तामाङविरुद्ध यसअघि दायर मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच असार १७ गत मध्यराती भएको सहमतिअनुसार ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन, निर्वाचन कानुन संशोधन र २०८४ निर्वाचनका लागि देउवा नेतृत्वमा सरकार गठन गरिने सहमति भएको हो। ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको हो।
राष्ट्रिय सभाले पनि आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ। असार २१ मा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रस्ताव टेबुल गरेपछि राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको हो। अर्थमन्त्री पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट सार्वजनिक गरेका थिए। एमाले सरकारमै रहेका बेला तीव्र विरोधका बीच असार ११ मा प्रतिनिधिसभाले बजेट पारित गरेको थियो। तर, शुक्रबार राष्ट्रिय सभाले बजेट पारित गर्दा सरकार अल्पमतमा परिसकेको छ। असार १८ मा एमालेले सरकारबाट बाहिरिने निर्णय गरे पनि राष्ट्रिय सभामा बजेट पारित गर्न सघाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगर कार्यालयमा छापा हानेको छ। मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको उजुरी परेपछि असार १८ मा अख्तियारले महानगरमा छापा हानेको हो। अख्तियार टोलीले महानगर कार्यालय रहेका कागजात नियन्त्रणमा लिएको छ। मणिपाललाई राजस्व छुट दिने महानगरको राजस्व परामर्श समितिको निर्णय, नक्सापास, कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णयसम्बन्धी कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४१० रुपैयाँ ५१ पैसा तोकेको छ। असार २० को मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो। सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४१०.५१ रुपैयाँ र मध्यम धानको ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।
साताभर सेयर बजार सूचक ६७.७८ अंकले बढेको एको छ। गत साताको अन्तिम कारोबार दिन असार १३ मा २०५१.९२ को बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको अन्तिम कारोबार दिन बिहीबार ६७.७८ अंकले बढेर २११९.७० को बिन्दुमा बन्द भएको हो। गत साता नेप्से पाँच कारोबार दिनमा १६.३९ अंकले घटेर २०५१.९२ को बिन्दुमा पुगेको थियो। यो साताको पाँच कारोबार दिन नेप्सेमा कुल २२ अर्ब १७ करोडको कारोबार भएको छ। गत साता यस्तो कारोबार २१ अर्ब १६ करोड थियो।
सत्तारुढ एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। हाल सरकारमा रहेका एमालेका आठ मन्त्रीले असार १९ मा प्रधानमन्त्रीलाई सामूहिक राजीनामापत्र बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको हो। दाहाल सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित आठ जना मन्त्री थिए।