काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै समस्या समाधानको भार मौद्रिक नीतिलाई बोकाउन नहुने बताएका छन्। बिहीबार राष्ट्र बैंकले आयोजना गरेको ‘आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तर्जुमाको सिलशीलमा अन्तरक्रिया कार्यक्रम’मा गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन्।
केन्द्रीय बैंकले नयाँ मौद्रिक नीति तर्जुमा गर्ने क्रममा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थालगायत अन्य सरोकारवालासँग माग गरिएका सुझावमाथि छलफल गर्ने गरेको छ। अहिलेको माहौल हेर्दा बैंकलाई रिकोवरी र नाफा कमाउनसँगै पुँजीकोष व्यवस्थापनको दबाब छ।
'बैंकको नाफा घटेर ८ प्रतिशतको हाराहारीमा आइपुग्नु भनेको यो न्यूनतम अवस्थामा पुग्नु हो। उद्योगी व्यवसायीमा रिपेमेन्टको प्रेसर छ। व्यापार व्यवसाय मन्दीको अवस्थामा रहँदा उद्योग क्षमताअनुसार प्रयोगमा आउन सकेका छैनन्। फस्वरुप ऋणको उपयोग कम भएको छ। ठूला उद्योगसँगै व्यक्तिगत ऋण पनि कम गएको छ। यस्ता समस्याको खाडलमा परेको अर्थतन्त्र पुन:उत्थानको मौद्रिक नीतिलाई मात्रै बनाइएको भन्दै सबै समाधान हुन नसक्छ,' गभर्नर अधिकारीले भने।
यस्ता समस्या सम्बोधनमा मौद्रिक नीतिले केही भूमिका खेल्ने भए पनि जादुको छडी जस्तो चट्ट निको पार्न नसक्ने उनले बताए। 'मौद्रिक नीतिलाई जादुको छडी जस्तो चट्ट यसले निको पार्छ भन्ने किसिमले लिनु हुँदैन। मौद्रिक नीतिले हदैसम्म गर्न सक्ने के हो? त्योसम्म गर्ने प्रयास राष्ट्र बैंकको रहन्छ,' उनले भने।
बैंकमा सहकारी क्षेत्रको समस्याको प्रभावसँगै कर्जा लिएर तिर्नु पर्दैन भन्ने समूहको आन्दोलनको प्रभाव परेको उनले औंल्याए। हिजोको दिनमा दिएको कर्जा अहिले तिर्नु भन्नेहरूले गर्दा बैंकमा रिकोवरीमा चुनौती थपिएको उनले प्रस्ट पारे।
'यसले गर्दा बैंकहरूले नयाँ कर्जा दिन हिच्किचाएको देखिन्छ। बैंकिङ तथा व्यवसायीक क्षेत्रले पनि आफ्नोतर्फबाट हिजोको दिनमा भएको दोहर्याउनु हुँदैन,' उनले भने, ‘कतिपय कुरामा हामीले सुधारका काम गरेर जानुपर्छ। हिजोका गल्ती फेरी दोहोर्याउन पाउनु हुन्न। रिर्फम निरन्तर गर्दै जानुपर्छ। आजको दिनमा हामीले रिर्फम गर्न छोड्यौं भने भोली अर्थतन्त्र र राज्यलाई निकै महँगो पर्न सक्छ।’
हिजोका दिनमा बैंकले ऋणीको क्षमताभन्दा बढी ऋण दिएकै कारण पनि आज समस्या देखिएको गभर्नरको भनाइ छ।
अहिलेको अवस्थामा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने मुख्य विषय अर्थतन्त्रलाई चलायमान बनाउने नै रहेको हुँदा राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति निर्माण गरिरहेको उनले बताए।