काठमाडौं। एमाले मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले थप ८ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
स्थिरताका लागि संविधान संशोधन र राष्ट्रिय सरकार गठन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सोमबार मध्यरातमा सातबुँदे सहमति भएसँगै एमालेले दाहाल सरकारकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ।
बुधबार मात्रै एमाले मन्त्रीहरुले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए। दाहाल नेतृत्वको सरकारमा एमालेले ८ मन्त्रालय पाएको थियो।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई एमाले मन्त्रीले राजीनामा दिएका मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
हालको मन्त्रिपरिषद्मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरुले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेका हुन्।