काठमाडौं। ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न छ।
सम्झौताअनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका–३ किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई सहज कर्जा प्रवाह गर्नेछ।
बैंकले भूमि तथा प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरणमैत्री आवासीय घर खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिनभित्र सरल र सहज कर्जा उपलब्ध गराउनेछ। बैंक भूमि तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने परियोजनाको बंैकिङ पार्टनरका रुपमा रहनेछ।
सम्झौतामा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र भूमि डेभलपर्स सञ्चालक वेंकटेश मुन्दराले हस्ताक्षर गरे।
बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षे अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र त्यसपछि कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ।
वातावरणीयमैत्री घर, भवन र अपार्टमेन्ट निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याट खरिद गर्न यो कर्जा लिन सकिने बैंकले जनाएको छ।
हाल बैंकले ३५४ शाखा, ३८४ एटीएम, २७७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।