काठमाडौं । सन् २०२५ आउन ६ महिना (आधा वर्ष) मात्र बाँकी रहँदा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बल्ल २०२३–३५ (पर्यटन दशक)को मस्यौदा बनाउन तम्सिएको छ। तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कोभिड १९ बाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न भन्दै पर्यटन दशक मनाउने विषय बजेटमा समावेश गरेका थिए।
पर्यटन दशक घोषणा भएको २ वर्ष पुग्नै लाग्दा पर्यटन मन्त्रालयले भने बल्ल कस्तो मस्यौदा बनाउने भनेर सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ। पर्यटन मन्त्रालयले तयार पारेको प्रारम्भिक मस्यौदाको छलफल २०२३–३५ (पर्यटन दशक)को रूपमा अगाडि बढाएका छन्।
२०२५ लाग्नै लाग्दा २३ देखि ३५ सम्म भनेर दशक मनाउनुभन्दा २५ देखि ३५ बनाउन सरोकारवाला निकायले सुझाव दिएका छन्। दुई वर्ष बितिसक्दा फेरि पुरानै निर्णयमा फर्किनुभन्दा नयाँ अभियानका साथ २०२५–३५ को रूपमा अगाडी बढ्न र परिवर्तित समय अनुसारको नीति बनाउनु सुझाव दिएका हुन्।
होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले २०२३ हैन २५ देखि ३५ लाई समेटेर आवश्यक मस्यौदा बनाउन सुझाव दिएका छन्। निर्णय गर्ने तर कार्यान्वयन नगर्ने सरकारको बानीले गर्दा व्यवसायीहरूले धेरै दुःख पाइरहेको बताउँदै सार्थकता पाउने र कार्यान्वयनमा जाने भए मात्र मस्यौदा बनाएर छलफल अगाडि बढाउनुपर्ने धारणा राखे।
२३ को तुलनामा अहिले पर्यटन क्षेत्रमा धेरै परिवर्तन भइरहेको बताउँदै ३५ सम्ममा पर्यटन क्षेत्रका लागि के-के गर्न सकिन्छ र के-के गरिन्छ भन्ने ठोस निर्णयमा पुगेर काम गर्नुपर्ने उनको भनाइ छ।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि २०२३ होइन २५ देखि ३५ लाई मध्यनजर गरी कार्यक्रम गर्न सुझाव दिए। पछिल्लो समय विश्वभर नै भ्रमण वर्ष वा दशक भनेर मनाउने प्रचलन हटिसकेकाले नेपालमा त्यसको औचित्य नभएको बताउँदै त्यसको ठाउँमा ‘पर्यटन प्राथमिकताको दशक’को रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
पर्यटन दशकको रूपमा अगाडी बढ्दा १० वर्षमा १० काम गर्ने प्रतिबद्धतासहित क्यालेन्डर नै बनाएर अगाडि बढ्न सके प्रभावकारी हुने उनको सुझाव छ। १० वर्ष मध्ये युरोपसँगको हवाई उडान कहिलेबाट हुने, दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रतिबद्धता, पोखरा–चितवन–लुम्बिनी लगायत पर्यटकीय क्षेत्र जाने सडकको काम सकाउने प्रतिबद्धता, वार्षिक १५ हजारलाई तालिम दिएर दक्ष बनाउने लगायत साझा बुँदा बनाएर प्रतिबद्धताअनुसार काम गर्ने अठोटका साथ लागे उपलब्धिमूलक हुने बताए।
‘नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन अव सरकारको आश्वासन हैन प्रतिबद्धता अनुसार कार्यान्वयनको खाँचो छ,’ पूर्व प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘त्यसका लागि दशकमा बनेको रणनीतिक योजना लागू हुन्छ भन्ने विश्वास दिलाउन जरुरी छ।’
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले विविध कारणले रोकिएको कार्यक्रमलाई निरन्तरता दिन लागिएकोले पुरानै मिति राखेर मस्यौदा बनाउन छलफल अगाडि बढाएको बताए। सरोकारवाला निकायबाट २०२५–३५ लाई नै पर्यटन दशकको रूपमा अगाडी बढाउन सुझाव आएको बताउँदै यस विषयमा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ। पर्यटन दशकको मस्यौदाको छलफलका लागि अबको एक सातापछि फेरि बैठक बस्ने भएकोले केही निर्णय हुने विश्वास व्यक्त गरे।
कोभिडले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन क्रमिक रूपमा केही गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले २०७९ मा बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेर कार्ययोजना निर्माण गर्न लगाएको थियो। कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरी २०७९ पुस ७ गते आफ्नो प्रतिवेदन बुझाएको थियो।
यस्तो छ प्रस्तावित कार्ययोजनाको खाका
पर्यटन बोर्डका निर्देशक लामिछानेले पेस गरेको कार्ययोजनामा देशैभरि बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्याउने, ततपश्चात् पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी सन २०३२ सम्ममा संख्या ३५ लाख पुर्याउने , र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।