काठमाडौं। गत वैशाख १६ र १७ मा आयोजित तेस्रो लगानी सम्मेलनका बेला प्रस्तुत दुई आयोजनाले आशयपत्र पेस गरेको लगानी बोर्ड नेपालले जनाएको छ।
जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेजका लागि सोल्टी सिवक्रिम प्रालि, ताहाचल र बबरमहल प्रशासनिक प्लाजा परियोजनाका लागि गान्सु–एसएस ल्यान्डमार्क, ब्लुबर्ड मल काठमाडौंले आशयपत्र पेस गरेका हुन्।
लगानी बोर्डद्वारा अध्ययन गरिएको जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजनाको अनुमानित लागत २ अर्ब ३५ करोड छ। जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माण प्रस्ताव गरिएको हो।
यस्तै, विभिन्न सरकारी कार्यालय राख्ने लक्ष्यसहित बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत आशयपत्र माग गरिएको थियो।
३० हजार २१ वर्गमिटरमा फैलिएको यो परियोजनाको अनुमानित लागत १० अर्ब २० करोड छ।
बोर्डले गत जेठमा कार्यक्षेत्रभित्र पर्ने विभिन्न १२ वटा परियोजनाको आशयपत्र माग गर्न समय थपेको थियो। यसमध्ये पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज, धुलिखेल मेडिसिटी परियोजना, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, बबरमहल प्रशासनिक प्लाजा परियोजना, दैजी औद्योगिक क्षेत्र र गौतमबुद्ध म्याटर्निटी हस्पिटलको आयशपत्र पेस गर्ने समय असार १८ सम्म दिइएको थियो।
विभिन्न चार आयोजनाका भने आशयपत्र पेस गर्ने समय असार २८ सम्म रहेको लगानी बोर्डका सह–प्रवक्ता रमेश अधिकारीले बताए।
उनका अनुसार नौमुरे बहुउद्देश्यीय परियोजना, कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना, खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना, भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानीकर्तालाई २०२४ जुलाई १२ तारिखसम्म प्रस्ताव पेस गरिसक्न समयावधि तोकिएको छ।
तेस्रो लगानी सम्मेलनका क्रममा विभिन्न १९ आयोजनामा लगानी जुटाउन परियोजना प्रस्तुत गरिएका थिए। पहिचान भएका ती आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको तथा विकासका लागि प्रारम्भिक चरण काम अघि बढाइएका थिए।