काठमाडौं । अन्तिम समयमा सम्हालिँदै सेयर बजार २१०० माथि अडिएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको अन्तिमसमयमा सम्हालिँदै ३.७९ अंकले बढेर २१०४.२२ को बिन्दुमा रोकिएको छ।
कारोबारको सुरुमा केही सकरात्मक देखिएको बजार ११ बजेर २५ मिनेटमा २०७६.९५ को बिन्दुसम्म खुम्चिएको थियो। त्यसबाट सामान्य घटबढ हुँदै बसेको बजार कारोबारको अन्तिम समयमा भने बढेर २१०० बिन्दुमाथि अडिएको हो। अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ४७.०४ अंक (२.२९ प्रतिशत)ले बढेर २१००.४३ बिन्दुमा रोकिएको थियो।
मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने बढेको छ। आज नेप्सेमा कुल ५ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको काराबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ। बुधबार सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशत र मन्जुश्री फाइनान्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ। बुधबार चिख्र्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक अर्थात् ४.७० प्रतिशतले घटेको छ।
बुधबार फाइनान्स समुहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। फाइनान्स समुहको सेयर मूल्य ६.०४ प्रतिशतले बढ्दा विकास बैंक समुह २.७१ प्रतिशतले बढेको छ। यस्तै, टे«डिङ इन्डेक्स पनि ६.१२ प्रतिशतले बढेको छ। बुधबार म्यानुफ्याक्चरीङ एन्ड प्रोसेसिङ समुहको सेयर मूल्य १.०७ प्रतिशतले घटेको छ।