काठमाडौं । एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपालले काठमाडौंका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रुपमा सुरु गरेका छन्। काठमाडौं महानगर, सहरी योजना आयोग र विद्यालयका प्रतिनिधिकोे उपस्थितिमा उक्त कार्यक्रम उद्घाटन गरिएको बोटलर्स नेपालले जनाएको छ।
काठमाडौं महानगरले यस परियोजनाद्वारा सरकारी शैक्षिक संस्थाहरुलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ।
परियोजनामा सहभागी विद्यार्थीलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ, पुनःप्रयोग, अप साइकलिङ र फोहोरको वर्गीकरणजस्ता विविध विषयको ज्ञान दिनेछ।
उनीहरुलाई वातावरणीय समस्या, वातावरण संरक्षणमा जिम्मेवारीलगायत ज्ञान दिनु परियोजनाको मुख्य उद्देश्य हो।
कार्यशालामा एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नवीन विकास महर्जनले बाबा परियोजनाबारे जानकारी दिए। परियोजना संयोजक समीक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाबारे चर्चा गरिन्।
परियोजनालाई वडा–२२ मा रहेको हिमालय मावि र वडा–१२ मा अवस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ।
सहरी योजना आयोग (शिक्षा)का शैलेन्द्र झाले पहिले बाबा कार्यक्रमलाई महानगरको वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात् सीएमयूद्वारा परिचालन र कार्यान्वयन गरिँदै आएकामा अहिले पुनर्जीवित र एकीकृत गर्ने उद्देश्यले एकीकृत सहरी विकास केन्द्र र बोटलर्स नेपालबीच सहकार्य भएको बताए।