काठमाडौं । उद्योग विभागले चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा २ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको तथ्यांक सार्वजनिक गरेको छ।
यो अवधिमा ३८३ वटा उद्योग दर्ता भएका छन्। दर्तामध्ये ४९ ठूला, ५० मझौला र २८४ वटा साना उद्योग दर्ता भएको विभागले बुधबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
११ महिने अवधिमा दर्ता भएका ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो।
विभागका अनुसार जेठमा ५९ उद्योग दर्ता भएका छन् भने ३६ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
स्वदेशी तथा विदेशी लगानी भित्र्याउन गत वैशाख १६/१७ मा सरकारले लगानी सम्मेलन गरेको थियो। सोही कारण आन्तरिक तथा वाह्य लगानीमा त्यसको सकारात्मक प्रभाव देखिएको छ।
विभागका अनुसार जेठमा मात्रै ९ ठूला उद्योग दर्ता भएका छन्।
यस्तै, यस वर्ष प्रत्यक्ष वैदेशिक लगानीतर्फ कुल ३५५ कम्पनीलाई स्वीकृति दिइएको छ।
११ महिने अवधिमा ४४ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।
जेठमा मात्रै ३ अर्बको लगानी प्रतिबद्धता आएको छ। जबकि सरकारले यस वर्ष कुल ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रने अनुमान गरेको थियो।
विभागका अनुसार स्वीकृत लगानी र दर्ता उद्योगले २६ हजार २७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्।
यस्तै, वैदेशिक लगानीतर्फ दर्ता भएका उद्योगले १७ हजार ६४२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
यस अवधिमा २ वटा प्याटेन्ट दर्ता, ट्रेडमार्क दर्ता ५ हजार ४९४, प्रारम्भिक वातावरणीय परीक्षण संख्या ४५, ट्रेडमार्कसम्बन्धी मुद्दा कारबाही संख्या ८९ रहेको विभागको तथ्यांकमा उल्लेख छ।