काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार निर्माण र संविधान संशोधनका विषयमा नेकपा एमालेसँग समझदारी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनु उपयुक्त हुने सुझाएको छ।
आज बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको हो।
बैठकले राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए।
‘एमालेसँग सत्ता बाँडफाँटको सहमति भइसकेको अवस्थामा अहिलेको राजनीतिक परिस्थिति मूल्यांकन गर्दै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरिएको हो। एमालेले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन भनेको छ। प्रधानमन्त्रीले राजीनामा दिनासाथ नयाँ सरकार बन्छ’, उनले भने।
एमालेसँग सोमबार मध्यराती भएको सत्ता बाँडचुँड समझदारीलाई केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको छ। देउवा र अध्यक्ष ओलीबीच सरकार गठन र संविधान संशोधन गर्नेलगायत सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको भनिए पनि ती बुँदा अहिलेसम्म सार्वजनिक गरिएको छैन।
तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट कांग्रेसले निर्णय गर्न सक्ने प्रावधान छ। सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व सुरुमा गर्ने र २०८४ चुनाव गराउने नेतृत्व लिएर सभापति देउवा प्रधानमन्त्री बन्ने दुई नेताबीच समझदारी भएको छ। राष्ट्रिय सहमतिका लागि सबै दललाई सहमत बनाउने प्रयास कांग्रेस, एमालेबाट भइरहेको छ’, उनले भने।
कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरे पनि दाहालले प्रतिनिधिसभाबाटै विश्वासको मत लिने र असफल भए मात्रै राजीनामा दिने निर्णय नेकपा माओवादीको केन्द्रको मंगलबारको पदाधिकारी बैठकले गरेको छ।