काठमाडौं। नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधिको पाँचाैं संशोधन गरेको छ। केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा लिन बैंकहरुलाई थप सजीकरण गर्न कार्यविधि नै संशोधन गरेको हो।
नेपाल राष्ट्र बैंक खुलाबजार कारोबारसम्बन्धी कार्यविधि (पाँचौं संशोधन, २०८१), २०७८ अनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले सातामा ३ पटक स्थायी तरलता सुविधा लिन पाउनेछन्। यसअघिसम्म यस्तो सुविधा बैंकहरुले २ पटक मात्रै लिन पाउने व्यवस्था थियो।
नयाँ व्यवस्थाअनुसार यस्तो सुविधाको थप भएसँगै निक्षेप परिपककताको समय पनि घटेको छ। यसअघि आइतबार र बुधबार बैंकहरुले न्यूनतम २० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा लिन पाउँथे।
अब स्थायी निक्षेप सुविधा प्रत्येक आइतबार, मंगलबार र बिहीबार उपलब्ध गराइनेछ। उक्त दिन सार्वजनिक बिदा परे कार्यालय खुलेको अर्काे दिन उपलब्ध गराइनेछ।
नयाँ व्यवस्थाअनुसार आइतबार प्रदान गरिएको सुविधा मंगलबार, मंगलबार प्रदान गरिएको सुविधा बिहीबार र बिहीबार प्रदान गरिएको सुविधा आइतबार परिपक्व भई भुक्तानी हुनेछ।
तर, भुक्तानी मितिमा बैंक विदा पर्ने अवस्थामा विदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत प्रदान गरिने संशोधित कार्यविधिमा उल्लेख छ।
साथै, अबदेखि स्थायी निक्षेप सुविधा लिन बैंक तथा वित्तीय संस्थाले तोकिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र खुद तरलता अनुपात (नेट लिक्विड रेसियो) समेत कायम गर्नुपर्ने छैन।