काठमाडौं। नेपाली सडकमा दौडने विद्युतीय सवारीसाधनको संख्या दिनप्रतिदिन बढ्दो छ। ब्याट्री क्षमता, वातावरणमैत्री फिचर, आधुनिक विशेषता र सुविधाका कारण विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको हो।
पछिल्लो परिदृश्यलाई हेर्दा नेपाली अटोमोबाइल बजारमा विद्युतीय गाडी बिक्रीमा रोचक प्रतिस्पर्धा छ। बजारमा चिनियाँ कम्पनीका गाडीको उपस्थिति बलियो छ। यसमा बिवाइडी, एमजी, सेरेस र टाटालगायत भारतीय ब्रान्ड बढी चर्चामा छन्।
अहिले नेपालमा १४ लाखदेखि २ करोड ३० लाख रुपैयाँसम्म पर्ने विद्युतीय सवारी उपलब्ध छन्। यद्यपि, बढी बिक्री हुने र ग्राहक आकर्षणमा पर्ने गाडी भने ४५ लाखदेखि ६० लाख (मध्यम रेन्ज)सम्मका छन्।
त्यसैले अन्य मूल्य रेन्जको तुलनामा ४५ देखि ६० लाख रुपैयाँ मूल्य पर्ने गाडीको उपस्थिति पनि धेरै छ। अधिकांश ब्रान्डले यहि मूल्य हाराहारीका गाडी बढी मात्रामा भित्र्याएका छन्।
नेपालमा आयात हुने विद्युतीय गाडी मध्ये सबैभन्दा धेरै बिक्री वितरण हुने मध्यम मूल्यका विद्युतीय ब्रान्डमा बिवाइडी एटो–३, टाटा नेक्सन इभी म्याक्स र एमजी जेडएसलगायतका मोडलहरु पर्छन्। सडकमा पनि यी मोडलका गाडीको उपस्थिति नै बाक्लो छ। नेपालीको बजेट सुहाउँदो मूल्य भएका कारणले पनि यी गाडीको प्रयोग बढी भएको हो।
बिवाइडी एटो–३
बिवाइडी एटो–३ नेपालमा सबैभन्दा धेरै बिक्री हुने मोडलमा पर्छ। चिनियाँ विद्युतीय ब्रान्ड बिवाइडी नेपालमा साइमेक्स इंकले बिक्री वितरण गर्दै आएको छ। बिवाइडी एटो–३ तीन भेरियन्टमा नेपालमा उपलब्ध छ। जसमा ४९।९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको एटो–३ को मुल्य ५५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। यसमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसले एक पटकको फुल चार्जले ३४५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी रहेको छ।
बिवाइडी एटो–३ ६०।४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको गाडीको मुल्य मिडिएम रेन्जको गाडीको मुल्य ६५ लाख ८८ हजार निर्धारण गरिएको छ। जसमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसले एक पटकको फुल चार्जले ४२० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। बिवाइडीको लङ रेन्ज भेरियन्टको मुल्य ५९ लाख निर्धारण गरिएको छ। जसमा ७१।७ किलोवाटको आवरको ब्याट्री प्याक रहेको छ। यसले एक पटकको फुल चार्जमा ५२२ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
टाटा नेक्सन इभी म्याक्स
नेपालमा विद्युतीय सवारीसाधन ब्रान्ड आयातमा टाटा दोस्रो स्थानमा रहेको छ। टाटा नेक्सन इभी म्याक्स नेपाली अटोबजारमा ग्राहकले रुचाएको मोडल हो। नेपालको लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी टे«डीङ हो। सिप्रदी टे«डीङले नेक्सन इभी म्याक्सको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ। नेक्सन इभी म्यासमा ४५।५ किलोवाटरको लिथिएम ब्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसमा जडान गरिएको ब्याट्रीले एक पटको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
एमजी जेडएस
नेपाली अटोबजार हिस्साका आधारमा एमजी चौथो ठुलो कम्पनी हो। नेपालमा एमजीको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स हो। एमजी जेडएस सबैभन्दा धेरै आयात र बिक्री हुने मोडलमा पर्छ। पारामाउन्ट मोटर्सले यसको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। मध्यम मूल्य पर्ने यस विद्युतीय गाडीमा ग्राहकको आकर्षक उल्लेखनिय छ। एमजी जेडएसमा ५१।१ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक दिएको छ। साथै, यसमा ९९ किलोवाट आवरको मोटर पाउन सकिन्छ।
जीएसी एवोन वाई
चिनियाँ ब्रान्ड ग्वान्झाओ अटोमोबाइल कर्पोरेसनको सहायक ब्रान्ड एवोनको पहिलो मोडलको रुपमा सिजी मोटर्सले जीएसी एवोन वाई मोडल २०८० फागुनमा नेपाली बजारमा सार्वजनिक गरेको थियो। जीएसी एवोन वाई मोडलमा ६१।५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ। उक्त ब्याट्रीले सिंगल चार्जमा ४९० किलोमिटर रेन्ज दिन्छ। कम्पनीले यसमा १०० किलोवाट पिकपावर क्षमताको इलेक्ट्रिक मोटर दिएको छ भने पिकटर्क २२५ एनएम रहेको छ। यसलाई कम्पनीले नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गरिरहेको छ।
हुन्डाई कोना
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई कोना इलेक्ट्रिक नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ। हुन्डाई कोना इलेक्ट्रिकमा ३९।२ किलोवाट आवरको ब्याट्री दिइएको छ। उक्त ब्याट्रीले ३ सय किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई कोना इभी ५९ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
निसान लिफ
नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा ल्याएको निसान लिफको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ निर्धारण गरिएको छ। निसान लिफमा ४० किलोवाट लिथियम ब्याट्रीे छ। यसको सिंगल चार्जले ३ सय ११ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यो गाडीले १४७ हर्स पावर र ३२० टर्क जेनेरट गर्छ। कम्पनीले नेपालमा निशानका गाडीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ।
सेरेस थ्री
नेपालमा सेरेस गाडी एमएडब्लु वृद्धि अटोकर्पले बिक्री वितरण गर्दै आइरहेको छ। एमडब्लु वृद्धिले सेरेस थ्री कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा नेपालमा ल्याएको थियो। यसमा ५२।७ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ। सेरेस थ्रीले एक पटकको फुल चार्जमा ३५० देखी ४०५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। सेरेस थ्रीको कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मुल्य ५२ लाख ९९ हजार तोकिएको छ।
काई एक्स–३
चेरीको सब ब्रान्ड काई एक्स–३प्रो नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले नेपाल ल्याएको हो। चिनियाँ गाडी काई एक्स–३ प्रोे लक्ष्मी ई–मोबिलिटीले ५२ लाख ९६ हजार रुपैयाँमा बिक्री गरिरहेको छ। यो गाडीको मोटर पावर १२० किलोवाट क्षमताको छ भने पिक पावर १६३ पीएस र टर्क २८० एनएमको छ। यसमा ५३।६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ। जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।