काठमाडौं । विद्युतीय गाडीमार्फत सार्वजनिक यातायातमा क्रान्ति ल्याउने घोषणा गरेर एक दशक अघिबाट सुरु भएको दिगो ग्रुप अफ कम्पनीले ५ वर्षमा ५० वटा ई–स्टप बनाउने गरी काम सुरु गरेको छ। सार्वजनिक यातायातलाई लक्षित गरी मुलुकका विभिन्न ५० स्थानमा करिब १ अर्ब ७५ करोड लगानी गरेर ई‑स्टप निर्माणको काम अगाडी बढेको ग्रुप अध्यक्ष राजन रायमाझीले बताए।
जसले गाडी किन्छ उसले नै हाइवेमा चार्जिङ स्टेसन राख्न सम्भव नभएको र चार्जिङ स्टेसन राखेर मात्र पनि लगानी नउठ्ने भएकाले त्यसलाई कसरी टिकाउन सकिन्छ भन्ने अवधारणाका साथ आफ्नो कम्पनीले काम गरिरहेको उनी बताउँछन्।
अहिले सिन्धुलीको मुलकोट र चितवनको कुरिनटारमा ई–स्टप सञ्चालनमा आइसकेको छ। यस्तै अबको एक महिनाभित्रै नवलपुरको दलदलेमा सुरु हुने उनले जानकारी दिए।
‘तीनदेखि चार महिनाबीचमा काभ्रेको भकुण्डेबेसीमा सञ्चालनमा ल्याउने र आर्थिक २०८२÷८३ भित्रमा १० वटा ई–स्टप सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ,’ अध्यक्ष रायमाझीले भने। विभिन्न विकास साझेदार संस्थाले केही मात्रामा सहयोग गरेको भए पनि ई–स्टप निर्माणका लागि सरकारको तर्फबाट कुनै सहयोग नभएको उनको गुनासो छ।![449321695_3680299532233195_2318569474963045872_n-1719928979.jpg](https://www.capitalnepal.com/uploads/posts/449321695_3680299532233195_2318569474963045872_n-1719928979.jpg)
‘अहिले बैंकको महँगो ब्याजदरमा आफ्नो घरजग्गा राखेर ई–स्टप निर्माण गरी विद्युतीय गाडीलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने अभियानमा लागेको छु,’ अध्यक्ष रायमाझीले भने, ‘जोखिम मोलेर काम गरिरहेका छौं।’
एउटा ई–स्टप निर्माणको लागि ठाउँ हेरेर जग्गासहित करिब ३ देखि ३ करोड ५० लाख रुपैयाँसम्म लगानी लाग्छ। ‘यसमा राज्यले कुनै माध्यबाट सहजिकरण गरिदिएको भए केही सस्तोमा निर्माण हुन सक्थ्यो,’ अध्यक्ष रायमाझीले भने, ‘आफैँले जग्गा खरिद गरेर सबै संरचना बनाउनु पर्ने हुँदा केही महँगो हुन्छ।’
एउटा ई–स्टपमा ठाउँ हेरेर ६ वटा चार्जरमार्फत एकै चोटी १२ वटा गाडी एक साथ चार्ज गर्न मिल्ने गरी निर्माण दिगोले गरिरहेको छ। अहिले सञ्चालनमा रहेको मुलकोटमा ९ वटा चार्जर रहेको र एक साथ १८ वटा गाडी चार्ज गर्न सकिन्छ। ३ करोड ५० लाख रुपैयाँमा ३ वटा चार्जर राखेर ६ वटा गाडी चार्ज गर्न सकिने खालको ई–स्टप बनाउन सकिन्छ। त्यस बाहेक जति धेरै चार्जर राखिँदै गयो त्यसको लागत बढ्दै जाने अध्यक्ष रायमाझीको भनाइ छ।
नेपाल विद्युत प्राधिकरणले गाडी चार्जमा प्रतियुनिट २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने भनेको छ। तर, २० प्रतिशतमा सावाँ नै उठ्न नसक्ने भएकोले आपसी सहमतीमै प्रतियुनिट १५ रुपैयाँ लिइरहेको दिगोले जनाएको छ। २० प्रतिशत राख्दा प्रतियुनिट १२ रुपैयाँसम्म पर्न आउँछ।
एउटा गाडी चार्ज हुनका लागि ३० मिनेट लाग्छ र एउटा गाडीले ३०० रुपैयाँ तिर्छ। यसरी शुल्क लिँदा पनि सावाँ राख्न मुस्किल हुने भएकोले प्राधिकरणलाई आफ्नो निर्णयमा पुर्नविचार गर्न सुझाव समेत उनको छ।
दिगोले नेपालमा ठूला विद्युतीय गाडी उपलब्ध गराउँदै आएको छ। साझा यातायातले सञ्चालन विद्युतीय गाडी दिगोले नै ल्याएको हो। अहिले विद्युत प्राधिकरणले स्थापना गरिरहेको चार्जिङ स्टेसनको काम पनि दिगोले नै गरिरहेको छ। कुरिनटारमा किया गाडीको चार्जिङ स्टेसन पनि दिगोले नै राखेको थियो। त्यति बेला कियाको डिलरको रुपमा समेत काम गरेको थियो दिगोले।
के हो ई–स्टप
![22161b4e-a3c9-4ef5-9b18-fc7d7cb55d10-1719931575.jpg](https://www.capitalnepal.com/uploads/posts/22161b4e-a3c9-4ef5-9b18-fc7d7cb55d10-1719931575.jpg)
ती चार्जिङ स्टेसनलाई कसरी दीर्घकालीन रुपमा सक्षम बनाउन सकिन्छ भनेरै रायमाझीले ‘इ–स्टप‘ को अवधारणा अगाडि बढाएका हुन्। सो स्टपमा चार्जिङसहित राम्रो मार्ट, सुस्ताउने ठाउँ, सुविधायुक्त बाथरूम र रेस्टुराँ, इलेक्ट्रिकल भेहिकलको वर्कसप आदि हुनेछ। गाडीका यात्रुले खाजा–खाना खाएबापतको र त्यहाँ उपलब्ध अन्य सुविधाहरुबाट हुने कमाइले चार्जिङ स्टेसन सञ्चालन गर्न सहज हुने उनको भनाइ छ।