काठमाडौं । एकल महिलाको हित संरक्षण तथा प्रवर्द्धनका लागि स्थापना गरिएको ‘एकल महिला सुरक्षा कोष’को रकम उपयोग गर्न सम्बन्धित महिला अधिकारकमीले माग गरेका छन्।
राष्ट्रिय महिला आयोगले आज एकल महिलाको नीतिगतसम्बन्धी अधिकारका विषयमा गरेको छलफलमा अधिकारकर्मीले उक्त कोषको रकम उपयोग गर्न माग गरेका हुन्।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले एकल महिला सवाललाई आयोगको तर्फबाट कायान्र्वयन गर्न सिफारिस गर्ने बताइन्। साथै उनले आयोगले चालु आर्थिक वर्षमा सात वटै प्रदेशमा एकल महिलासम्बन्धी कार्यक्रम गरेर अवस्था अनुगमन गरेको जानकारी दिइन्। 'यही आवाजलाई हामी सरकार समक्ष पु¥याउने मात्रै होइन, कार्यान्वयन गराउनसमेत जोड दिने छौँ', उनले भनिन्।
राष्ट्रियमानव अधिकार आयोगका सदस्य लीली थापाले एकल महिलाको संरक्षण गर्न बनाएको एकल महिला सुरक्षाकोष पाँच वर्षसम्म उपयोग नहुनुले मुलुकका सात प्रतिशत जनसङ्ख्या भएका एकल महिलाले कठिनाइ भोगेको बताइन्। 'पाँच वर्षमा चार महिलामन्त्री परिवर्तन हुनुभयो, तर, कोषको उपयोग हुनसकेन', उनले भनिन्, 'कोषमा छ करोड बजेट फ्रिज भएको छ, एकल महिलाले दुःख पाएका छन्।' उनले महिला मन्त्रालयले कोषको उपयोगमा तुरुन्तै ध्यान दिनुपर्ने बताइन्।
कार्यक्रममा कविता पाण्डेले एकल महिलाको अवस्थामाथि कार्यपत्र प्रस्तुत गरेकी थिइन्। उनले विश्वभरी एकल महिलाको अवस्था दयनीय रहेको तथ्य देखाउँदै नेपाली एकल महिलाको स्थीति दर्दनाक रहेको बताइन्। 'राज्यले एकल महिलाको न्यायका लागि राम्रा कानुन बनायो तर, कार्यान्वयन गराउन सकेन,' उनले भने, 'बनेका कानुन र नीति तुरुन्तै लागू गर्न सरकारलाई दबाब दिन आवश्यक छ।'