काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा थप दुई दर्जन व्यक्तिविरुद्ध अवैध सुन पैठारी तथा अभौतिक मुद्रा सम्बन्धि कारोबार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेको छ। यसअघि २०८० भदौमा पनि २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
त्यसैगरी ६० किलो सुन तस्करीमा दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पेसँग ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ बिगो दाबी गरिएको छ।
पेवेल नेपालका सञ्चालक तथा कर्मचारी भीमप्रसाद तिमल्सिना, नेपाल भूषण चन्द, पाल्साङ लामा, खेलानन्दप्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्वल आचार्य, सुरज सम्शेर जबरा र मिनबहादुर दुलालसमेत ८ जनाविरुद्ध ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २ सय ३३ रुपैयाँ र सजिलोपे पेमेन्ट सर्भिसेजका सञ्चालक तथा कर्मचारी सुनिल जाकीबन्जा, फुनछुक डाक्पा आथुपछाङ, काश्यप मानन्धर, रोशनबाबु मल्लसमेत चार जनासँग १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ८५ रुपैयाँ बिगो माग दाबी गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई विभिन्न आठ वटा अभियोगमा सजाय हुनपर्ने माग गरेको छ। यद्यपि कार्यालयले ६० जनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
उनीहरू विरुद्ध सुन तस्करी, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय हुनुपर्ने माग अभियोग पत्रमा गरेको छ।
कार्यालयले प्रतिवादीहरू संगठित भई एकै समयमा एकभन्दा बढी कसुर गरेको हुँदा मुलुकी अपराध संहिता २०७४ पनि आकर्षित हुने जनाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीलाई समेत प्रतिवादी बनाएको छ।
प्रतिवादीहरूले संगठित भई विभिन्न डमी कम्पनी खडा गरेको र ती कम्पनीका नाममा सुन पैठारी गर्ने गरेको कार्यालयको दाबी छ। सीआईबी अध्ययनमा सुन चोरी पैठारीमा संलग्न व्यक्तिबाट स्थापित विभिन्न पाँच कम्पनीबाट इलेक्ट्रोनिक मालबस्तु तथा ब्रेकसुमा गरी करिब ३० अर्ब ८४ करोड रुपैयाँ बराबरको ३ हजार १९४ किलो सुन तस्करी भएको देखिएको छ।