काठमाडौं । सरकार परिवर्तनको हल्लासँगै लगातार दोस्रो सर्किट ब्रेक लागेर साढे २१०० माथि पुगेको मंगलबारको सेयर बजार २१०० बिन्दुमा सीमित भएको छ।
कारोबार सुरुभएको एक मिनेटमै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८२.४८ अंक अर्थात् ४ प्रतिशतले बढेर २१३५ बिन्दुमा पुग्यो। पहिलो सर्किट ब्रेक लागेको २० मिनेपछि खुलेको बजारमा कारोबार सुरु भएको १ मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो।
दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से १०२.६८ अंक (५ प्रतिशत)ले बढेर २१५६.०७ को बिन्दुमा पुग्यो र ४० मिनेटका लागि कारोबार बन्द भयो। लगानीकर्ताले ४० मिनेटपछि कारोबार खुल्नासाथ बजारमा तेस्रो सर्किट ब्रेक लाग्ने अनुमान गरेका थिए।
तर, दोस्रो सर्किट ब्रेकपछि कारोबार खुल्नु अगावै पुष्पकमल दाहालको पार्टी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेसँगै सेयर बजार तेस्रो सर्किट ब्रेकमा पुगेन।
नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर संयुक्त सरकार बनाउने सहमतिपत्रमा अध्यक्ष केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको खबर प्रकाशित भएसँगै मंगलबारको सुरुवाती सेयर बजारमा उच्च वृद्धि भएको थियो। तत्कालै दाहाल नेतृत्वको सरकार ढल्ने र एमाले-कांग्रेसको सरकार बन्ने अनुमान लगानीकर्तामा थियो। एमालेको भागमा अर्थमन्त्री परेको भन्ने विषय बाहिरिएकाले पनि बजारले थप उचाइ लिएको ठानिएको छ।
तर, तत्कालै राजीनामा नदिने निर्णयसँगै आगामी साउन १८ सम्म प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार रहनेछ। दाहालले संसद्बाट विश्वासको मत लिने बताएका छन्।
मंगलबार कारोबार बन्द हुँदा नेप्से ४७.०४ अंक (२.२९ प्रतिशत)ले बढेर २१००.४३ बिन्दुमा अडिएको छ।
दाहाल प्रधानमन्त्रीमै रहेका बेला साउन १८ सम्मको समयमा मौद्रिक नीति पनि आउनेछ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन १५ सम्म सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ। यसर्थ, त्यतिबेलासम्म सरकारको नेतृत्व माओवादीले नै गर्ने भएकाले पनि लगानीकर्ताले मंगलबारको कारोबारमा यूटर्न मारेको देखिन्छ।
मंगलबार नेप्सेमा कुल ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार कुल २ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर छ।
मंगलबार हिमालयन डिस्टिलरीको सेयर मूल्य ८.५४ प्रतिशतले बढ्दा समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.९६ प्रतिशतले बढेको छ। यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.४६ प्रतिशत र हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य ६.२१ प्रतिशतले घटेको छ।
मंगलबार १३ वटै समूहको सेयर मूल्यमा हरियाली छाएको छ। बैंकिङ समूहमा ३.०३, म्यानुफ्याक्चरिङ एन्ड ३.३० प्रतिशत र ट्रेडिङ समूहको सेयर मूल्य ३.१२ प्रतिशतले बढेको छ। विकास बैंक समूहको सेयर मूल्य २.०१ प्रतिशतले बढ्दा फाइनान्स समूहको सेयर मूल्य २.११ प्रतिशतले बढेको छ।