काठमाडौं । सन् २०२४ को जुन महिनामा ७६ हजार ७३६ विदेशी पर्यटक नेपाल आए। यो संख्या २०२३ को जुन महिनाभन्दा ४ हजार ४ सय ८६ बढी हो। अर्थात् पर्यटक आगमन संख्या ६.२ प्रतिशतले बढी हो।
गत वर्षको जुनमा ७२ हजार २५० विदेशी पर्यटक जहाजमार्फत नेपाल आएका थिए।
तथ्यांकमा पर्यटकको संख्या बढे पनि गत वर्षको तुलनामा यो वर्ष होटलको अकुपेन्सी भने घटेको छ। पर्यटक संख्या बढेसँगै होटलको अकुपेन्सी वृद्धि हुनुपर्नेमा घटेको देखिन्छ।
काठमाडौं म्यारियट होटल सञ्चालक शशिकान्त अग्रवाल गत वर्षको तुलनामा यो महिना होटलको बुकिङ १० प्रतिशतले घटेको बताउँछन्। ‘पर्यटकको संख्या बढ्दा अकुपेन्सी पनि बढ्दै जानुपर्ने हो,’ सञ्चालक अग्रवालले भने, ‘तर, यस वर्ष ठिक उल्टो भयो।’
म्यारियटमा मात्र हैन नेपालमा सञ्चालित सबै होटलको अकुपेन्सी विगत वर्षको तुलनामा खुम्चिएको होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले जानकारी दिए। गत वर्षको तुलनामा यो वर्ष नयाँ होटल धेरै थपिएका र पर्यटक बाँडिँदा अकुपेन्सीमा प्रभाव परेको उनको भनाइ छ।
यो वर्ष मात्र काठमाडौंमा ५ तारे होटल १ वटा र ३ वटा तारे होटल थपिएका छन्। यस्तै साना होटल पनि थपिएका अकुपेन्सी घटेको उनले बताए। पुराना होटलमा ग्राहक बस्न रुचाउन छाडेका छन्। नयाँ होटलले सस्तो दरमै कोठा दिने भएकोले पनि पुराना होटल पर्यटकको रोजाइमा पर्न छोडेको व्यवसायीको अनुमान छ।
हायात प्यालेसका सञ्चालक एवंम गोल्याण ग्रुपका निर्देशक अक्षय गोल्याण विगत वर्षको तुलनामा ग्राहक संख्यामा केही कमी आए पनि बुकिङ उत्साहजनक रहेको बताउँछन्। ‘जेठ, असार, साउन, भदौ पर्यटकका लागि अफसिजनको रुपमा मानिने हुँदा केही कमी आएको छ,’ निर्देशक गोल्याणले भने, ‘आगामी दिनमा बढ्ने आशा राखेका छौं।’
उपत्यका बाहिर पनि निरास
काठमाडौंमा मात्र होइन पोखरा, सौराहालगायत पर्यटकीय क्षेत्रका होटलमा समेत अकुपेन्सी घटेको छ। जंगल सफारी लज सौराहका सञ्चालक सुमन घिमिरले होटलको अकुपेन्सी मुस्किलले १० प्रतिशतमा सीमित रहेको जानकारी दिए। पर्यटक संख्या बढ्दै जाँदा अकुपेन्सी बढ्नुपर्नेमा घट्दै गएको उनले बताए।
यस्तै यस वर्ष पोखरामा पनि पर्यटक आगमन संख्या घटेको छ। रानीवन आर्केड सञ्चालक एवं पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेलका अनुसार गर्मी छल्न आउने भारतीय पर्यटकको संख्या यो वर्ष घटेको हो।
गत वर्ष यही महिनामा धेरै भारतीय पोखरा भ्रमणमा आएकोमा यो वर्ष सडक समस्याले घटेको हुन सक्ने उनको अनुमान छ। ’पोखरामा अपेक्षा अनुसार गर्मी मौसममा भारतीय पर्यटक कम आए‘, भुजेलले भने।
नगरकोट नाल्दुम पर्यटन विकास समिति अध्यक्ष एवं भंगेरी दरबार होटल सञ्चालक नवीन गुरुङले गर्मी छल्न आउने पर्यटक संख्या गत वर्षको तुलनामा केही कम भएको बताए। ‘नेपालीको संख्या बढे पनि विदेशीको संख्या घटेको छ,’ अध्यक्ष गुरुङले भने।