काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक (एमडी) नियुक्तिका लागि अन्तर्वार्ता र व्यावसायिक कार्ययोजना प्रस्तुतिका लागि समय तोकिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ २२ गते सूचना प्रकाशित गरेर दरखास्त मागेको थियो भने असार ६ गते उक्त पदका लागि १६ जनाको दरखास्त स्वीकृत गरेको थियो।
मन्त्रालयले असार २० गतेदेखि १६ जनालाई नै अन्तरवार्ता र व्यावसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाएको हो। मन्त्रालयले तीन दिनमा सो प्रक्रिया सम्पन्न गरेर प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गर्नेछ।
टेलिकमको एमडी पदका लागि दरखास्त दिनेमा राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. विमल आचार्य, वर्तमान निमित्त एमडी संगीता पहाडी (अर्याल), प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली, लक्ष्मण महर्जन, ई. सुभाष साह, नगेन्द्रकुमार दास, केदार नाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, ई. सालिक राम सुवेदी र बुद्धिप्रसाद आचार्य रहेका थिए।
यसअघि नै दरखास्त दिने १७ जनामध्ये नेपाल टेलिकममै कार्यरत इन्जिनियर सुभाष साहको योग्यता नपुगेपछि दरखास्त अस्वीकृत गरिएको थियो। दरखास्त दिनेमा ४ जना बाहेक सबैजसो नेपाल टेलिकमसँग आबद्ध कर्मचारी छन्।
![448711071_3805673156420292_8047944584748768968_n-1719904645.png](https://www.capitalnepal.com/uploads/posts/448711071_3805673156420292_8047944584748768968_n-1719904645.png)