काठमाडौं। रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु र आठ जना घाइते भएका छन्। रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डस्थित परेवा छहरानजिक सोमबार साँझ दुर्घटना हुँदा उक्त हताहती भएको हो।
जिप सडकबाट झन्डै चार सय मिटर तल खसेको रोल्पा प्रहरीलाई उद्धृत गर्दै केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये ६ जनाको पहिचान भएको छ भने एक बालिकाको पहिचान भएको छैन।
दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँकी ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का, परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीया रामकली पुन, माडी– ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
पहिचान खुल्न नसकेकी बालिका दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशंका गरिएको प्रहरी निरीक्षक शाहीले बताए।
घाइते आठमध्ये दुई जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि गए राती नै बुटवल ल्याइएको छ।
सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको जनाइएको छ। चालकले पहिरो छलेर केही अग्लो ठाउँबाट गाडीलाई पार गराउन खोज्दा जिप पछाडि सर्दै सडकबाट तल खसेको हुन सक्ने आशंका छ।
बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जिप दुर्घटनामा परेको थियो। जिपमा चालकसहित १५ जना सवार थिए।
दुर्घटनामा जिपचालक दीपक थापामगर पनि घाइते भएका प्रहरीले बताएको छ। जिप दुर्घटनामा अधिकांश तालाबाङबासी परेपछि तालाबाङ गाउँ शोकमा परेको छ।