काठमाडौं । सर्वोच्च अदालतले भौतिक योजना तथा निर्माण मन्त्रालयमा इन्जिनियरको रूपमा कार्यरत सहसचिव अरुणकुमार रञ्जितकारलाई भ्रष्टाचारी ठहर गरेको छ।
न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सोमबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला सुनाएको हो।
न्यायाधीशद्वय राउत र फुयाँलको संयुक्त इजलासले जेठ २० गतेदेखि निरन्तर सुनुवाइ गर्दै निसु तोकेको थियो। यसअघि उक्त मुद्दामा बहस सकेर असार १० गतेसम्म दुवै पक्षबाट बहस नोट पेस गर्ने र १७ गते फैसला सुनाउने मिति तोकेको थियो ।
विशेष अदालतले पनि पूर्व सहसचिव रञ्जितकारलाई दोषी ठहर गरेको थियो। सर्वोच्चले ११ वर्षपछि उक्त फैसला सदर गरेको हो ।
विशेषले २०६९ मंसिर ८ गते विशेष अदालतले पूर्वसहसचिव रञ्जितकारलाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद, ४५ लाख ४५ हजार ५०३ बराबरको बिगो र बिगो बराबर जरिवाना हुने फैसला सुनाएको थियो।
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले पूर्वसहसचिव रञ्जितकार र उनको परिवारको नाममा भएको ४० लाख ६७ हजार ७०० रुपैयाँ बराबरको सेयर र सेयरबाट बढेको रकम सरकारको हुने तथा चार लाखको सवारी साधन तथा नपुग ७७ हजार ८०३ रुपैयाँ बैंक मौज्दातबाट जफत हुने भनेको थियो।
रञ्जितकार र उनका परिवारसँग घर, जग्गा, सवारी साधन, सेयर, बैंक ब्यालेन्सलगायत जम्मा दुई करोड ५२ लाख आठ हजार रुपैयाँ बराबरको सम्पत्ति रहेकोमध्ये दुई करोड ६ लाख ६२ हजार ८६४ बराबरको सम्पत्ति वैध भएको र ४५ लाख ४५ हजार ५०३ वैध आम्दानीभन्दा बढी देखिन आएको सो फैसलामा उल्लेख थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६१ फागुन १८ गते सहसचिव रञ्जितकारविरुद्ध मुद्दा दायर गरेकोमा हदम्याद नघाइ मुद्दा दर्ता गराएको भन्दै उक्त अदालतले २०६३ असार २१ गते मुद्दा खारेज गरेको थियो।
सर्वोच्च अदालतले २०६८ फागुन ३० मा भ्रष्टाचार निवारण ऐनको दफा २४ क बमोजिमको हदम्यादभित्रै मुद्दा दायर भएको देखिएकाले मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णय आदेश दिएपछि पुनः उक्त अदालतमा सुनुवाइ प्रारम्भ भएको थियो।
असिस्टेन्ट इन्जिनियरको रूपमा २०२९ वैशाखमा सरकारी सेवामा प्रवेश गरेका रञ्जितकार विभिन्न निकाय हुँदै भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिवको पदबाट २०५८ भदौमा सेवा निवृत्त भएका थिए।